किन मदिरा खान्छन् महांकालका भैरव?

वीर अस्पतालको सम्मुखमा एक मन्दिर छ। महांकाल भैरव मन्दिर। करिब १२ सय वर्षअघि स्थापना भएको मानिने यो मन्दिरसँग एउटा यस्तो तथ्य जोडिएको छ, जसले धेरैलाई चकित पार्न सक्छ। शाष्त्रीय मान्यतानुरुप कुनै मन्दिरमा पूजा समाग्रीका रुपमा मदिरा प्रयोग हुन्छ भन्दा विश्वास नलाग्नसक्छ।
तर, यस महांकाल भैरव मन्दिरमा भने विशेष पूजा सामाग्रीका रुपमा मदिरा अनिवार्य छ।उपत्यकाको प्राचीनमध्ये एक महांकाल भैरव मन्दिरमा पूजापाठका लागि मदिरा नै किन चढाउनुपर्ने? हरेक जात्राको कथाजस्तै यो मन्दिरको कथा धेरैका लागि कौतुहलको विषय बन्न सक्छ।महांकाल मन्दिरका पूजारी उज्ज्वल बज्राचार्य एउटा रमाइलो किवंदन्ती सुनाउँछन्।कुरा प्राचीन तान्त्रिक युगको हो। सास्वत नामका बज्रचार्य तान्त्रिक गुरु काठमाडौंस्थित सबलबहाल न्युरोडमा बस्दथे। उनी न्युरोडको तन्त्रशिद्धि बिहारको मुख्य (पुजारी) थिए। तान्त्रिक गुरु बजा्रचार्य एक दिन नुहाइ–धुवाइ गरी शरीरमा तेल लगाएर मध्यान्हको समयमा टुंडिखेलमा घाम तापेर बसेका थिए। घाम तापेर बसिरहेको अवस्थामा अचानक आकासमा कालो बादल छायो। जसका कारण केहीबेरमै धर्ती–आकास पुरै अध्याँरो हुन पुग्यो।
यस्तो अवस्था सिर्जना भएको चाल पाएपछि बजा्रचार्यले के हो भनी आँखा बन्द गरेर ध्यानदृष्टिले हेर्न थाले। ध्यानदृष्टिबाटै उनले आकासमा माहांकाल भैरव भगवान आएको थाहा पाए। गुरु बजा्रचार्यले आफ्नो तान्त्रिक बलको प्रयोग गर्दै तिब्बती हिमालमा बस्दै आएका माहांकाल भैरव काठमाडौंको आकास हुंदै भारतको कुरुक्षेत्र (महाभारतको युद्धस्थल) जाँदै गरेको अवस्थामा तल जमिनमा तानी सिक्रीले बाँधेर राखेको किम्बदन्तीमा उल्लेख छ।प्राचीन समयमा नेपाल मण्डलका मानव जातिलाई राक्षसहरुले दैनिक रुपमा मार्दै खाने गर्दथे। मानव कल्याणको निमित्त तान्त्रिक गुरु सास्वत बज्रचार्यले महांकाल भैरव भगवानलाई नेपाल मण्डलमा नै बस्न आग्रह गरेको बताइन्छ।त्यसपछि भने युद्ध हेर्न भारत हिँडेका महांकाल भैरवले आफू युद्ध हेरेर फर्किने र आफूलाई सिक्रीले बाँधेर नराख्न गुरु बज्राचार्यसँग आग्रह गरे।
महांकाल भैरवको आग्रहलाई स्वीकार गर्दै गुरु बज्राचार्यले सिक्री खोलिदिए र लगत्तै उनी महाभारतको युद्ध हेर्न भारत गएको भन्ने किम्बदन्ती छ। भारतबाट फर्केपछि महांकाल भैरव नेपाल मण्डलमा नै बसेका थिए। त्यसपछि भने गुरु बज्राचार्यले भगवान महांकाल भैरवका लागि हाल महेन्द्र पुलिस क्लब रहेको स्थानको ठिक पछाडि सानो मन्दिर तयार गरिदिए।
नेपाल मण्डलमा रहँदा महांकाल भैरव भगवानले यहाँका मानिसहरुलाई राक्षसले मार्दै, खाँदै गरेको दयनीय अवस्था देखे। त्यस्तो कठिन घडीबाट यहाँका मानिसलाई पार लगाउनुपर्छ भन्ने ठानेर महांकाल भैरवले नेपाल मण्डलका सवै मानवजातिहरुलाई आफ्नो काखमा राखे। राक्षसको क्रुर व्यवहारबाट प्रताडित यहाँका मानव समुदायको साथमा भगवान बुद्धका अवतारसमेत थिए। सो समयमा भगवान बुद्ध अवतारले पनि मानवलाई जस्तै आफूलाई पनि राक्षसले खाने भन्दै माहांकाल भैरव भगवानसमक्ष शरणमा राख्न आग्रह गरेको बताइन्छ। बुद्ध अवतारको आग्रहलाई माहांकाल भैरवले स्वतः स्विकार गरे। तर, भगवान बुद्ध अवतार पनि नारायणको नवौं अवतार भएको कारण माहांकाल भैरवले उनलाई शिरमा राखे। जसको कारण माहांकाल भैरवलाई ‘बौद्ध धर्मरक्षक महाविहार’ पनि भनिन्छ।
प्राचीन समयमा माहांकाल भैरवको मन्दिर हालको महेन्द्र पुलिस क्लब रहेको स्थानको पछाडि पट्टीको भागमा भएता पनि हाल भने वीर अस्पतालको सम्मुख ६ फिट उचाईको ढुङ्गाको मुर्तिसहितको मन्दिर स्थापित छ। महांकाल भैरव भगवानको मुर्तिमुनि उनको बाणसमेत राखिएको छ। जुन गुरु बजा्रचार्यले प्राचीन समयमा नै स्थापना गरेका हुन्।तत्कालीन समयदेखि नै यस मन्दिरमा तान्त्रिक विधि (मन्त्रसिद्ध पुजा गर्ने विधि) बाट पुजा गर्न थालिएको मानिन्छ । तान्त्रिक पूजाको सुरुवात मन्त्रसिद्ध गुरु सास्वत बज्रचार्यले नै गरेका हुन्।बज्र र घन्टी बजाएर पूजा गरिने बज्रयान पूजा विधि प्राचीन समयमा भगवान बुद्धले सुरु गरेको बताइन्छ। बज्रयान पूजा विधिअन्तर्गत अधिक मन्त्र जप गरिने र धेरै प्रभावकारीसमेत हुने महांकाल मन्दिरका पूजारी उज्ज्वल बज्राचार्यको भनाइ छ। उनका अनुसार यो विधिअनुसार साँझ परेपछि मात्रै पूजा गर्ने मान्यता रहिआएको छ। यो पूजा विधि अपनाएमा चाहेको मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ।
शाष्त्रीय तथा तान्त्रिक मान्यता र सामाजिक परम्परा मुताबिक धेरै पहिले देखि नै मठमन्दिरहरुमा पशु तथा मानव बली दिने परम्परा छ। यसरी पूजा गर्दा भगवान प्रसन्न हुने र मनोकामना पूरा हुने जनविश्वास पनि छ। तर, महांकाल मन्दिरका पूजारी उज्ज्वल बज्राचार्य बली दिएर पूजा गर्ने विधिभन्दा बज्रयान पूजा विधि मावन जीवनका लागि अधिक प्रभावकारी हुने दाबी गर्छन्।महांकाल भैरव मन्दिरमा बज्रयान पूजा विधिबाटै पात्र पूजा पनि गरिन्छ। बज्रयान पूजा विधिका लागि ख्या(दही, तेल, ज्वानो, बेसार, मसाला, चामल आदि राखेर तयार पारिएको पेय पदार्थ), रक्सी, सेतो जाँड, रातो जाँड, फलफूल, चिउरा, स्यावजी, मासु, रोटी इत्यादि आवश्यक पर्दछ।
तर, महांकाल भैरवका पूजारी बज्राचार्यका अनुसार पछिल्लो समय स्वदेश तथा विदेशमा रहेका मानिसहरुले विदेशी ब्रान्डका रक्सी तथा अन्य सामाग्री ल्याएर चढाउने गरे। तर सो बज्रयान पूजा विधिको अंग भने होइन। यस विधिमा चढाइने मदिरा स्थानीय स्तरमै विशेष तवरबाट तयार गरिन्छ। उनी भन्छन्, ‘खासमा यस विधिअन्तर्गत चढाउनकै लागि तयार गरिएको रक्सी, सेतो जाँड, रातो जाँड, विभिन्न प्रजातिका फलफूल, चिउरा, स्यावजी, मासु, रोटी र ख्याको प्रयोग गरिन्छ।’महांकाल भैरव मन्दिरमा बज्रयान विधि जस्तै तान्त्रिक पूजा विधिबाट पनि पूजाअर्चना गरिन्छ। तान्त्रिक पूजाका लागि पनि बज्रयान पूजाअनुसार पात्र पूजा गर्दा आवश्यक सबै पूजा सामग्री अनिवार्य हुन्छ। सोका अलावा यस विधिअन्तर्गत रहेर पूजा गर्न हाँसको अन्डा पनि आवश्यक पर्छ।
महांकाल भैरव मन्दिरमा हिन्दु र बौद्ध दुवै धर्ममा आस्था राख्ने मानिसले पूजापाठ गर्ने गर्दछन्। पूजारी बज्राचार्यका अनुसार मुख्य गरी साढेसात, शनि, राहु, केतुलगायतका ग्रहदशाको शान्ति तथा पूजा गर्नुपरे यस मन्दिरमा भक्तजनहरु आउने गर्छन्। तर, ती कार्यका लागि भने रक्सी आवश्यक नपर्ने उनले स्पष्ट पारे।पछिल्लो समय भने रक्सी चढाइने मान्यता विस्तार हुँदैजाँदा धेरैजसो भक्तजनले दर्शनका लागि आउँदा रक्सी ल्याउने गरेका छन्। पूजारी बज्राचार्यले भने, ‘हिजोआज बिहानै मन्दिर दर्शन गर्न आउनेले पनि रक्सी ल्याएर चढाउने गरेको पाइन्छ। खासमा मन्दिरमा गरिने विशेष बज्रयान, तान्त्रिक लगायतका पूजा गर्दा मात्रै रक्सी अनिवार्य रहन्छ।’
तर, मन्दिर र महांकाल भैरवप्रतिको आस्था भने बढेर गएको उनको बुझाई छ। ‘आफूलाई वा आफ्ना परिवार र आफन्तजनलाई अप्ठेरो पर्दा मन्दिर आउनुहुन्छ। पूजा गर्नुहुन्छ। केही समयपछि अप्ठेरोमा परेकै व्यक्तिलाई राम्रो भयो भनेर पनि आउने गर्नुभएको छ’, बज्राचार्यले भने।

Post a Comment

bk

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget