Search
Thursday 16 August 2018
  • :
  • :
Latest Update

सुटिङमा घाइते भएका कलाकारहरु (भिडियोमा)

सुटिङमा घाइते भएका कलाकारहरु (भिडियोमा)

घटना १ः फिल्म ‘मैदान’ को ‘फाइट सिन’ छायांकन भइरहेको थियो । अभिनेता राजेश हमाल हातमा तरबार बोकेर गुण्डालाई प्रहार गर्न तम्तयार थिए । तर, अकस्मात् त्यो तरबार बिँडबाट फुत्कियो र क्यामेराम्यानको अनुहारमा गएर लाग्यो । उनका चार वटा दाँत पूरै भाँचिए, ओठ पनि काटियो । हमाल हेरेको हेरै भए ।

घटना २: फिल्म ‘जाऊँ हिँड पोखरा’को सुटिङमा अभिनेत्री रेखा थापाले अभिनेता जीवन लुइँटेललाई गुण्डाहरूबाट जोगाएर भगाउनुपर्ने दृश्य थियो । हाम्फाल्ने बेलामा ‘मिसप्लेस’ भएर उनी राखिएको ‘फर्म’ भन्दा बाहिर लडिन् । पर्दामा जीवनलाई बचाउनुपर्ने थियो, यथार्थमा आफैँ घाइते भइन् । खुट्टाको ‘लिगामेन्ट’मा असर पर्यो । उनी बेडमै थलिएपछि १५ दिन सुटिङै रोकियो ।

घटना ३: फिल्म ‘सन्तान’का लागि अभिनेता निखिल उप्रेती बाइक उडाउँदै थिएँ । उडाए पनि । तर, उडाउने क्रममा उनको दाहिने हातको ठूलो औँलै भाँचियो । त्यो स्टन्टमा दर्शक रमाए तर उनको त्यो हातको औँला अझै बांगै छ ।

फिल्ममा फाइट र स्टन्टका दृश्य देख्दा दर्शक उत्तेजित हुन्छन्, जीउमा काँडा उमार्छन्, भरपूर मनोरञ्जन लिन्छन् । । हिरोले गुण्डालाई पिट्दा उनीहरू खुशी हुन्छन्, ताली पिट्छन् । बाइक उडाउँदा अथवा सात तलाबाट हाम्फाल्दा उनीहरू उत्तेजनामा बेस्सरी चिच्याउँछन्, सिटी बजाउँछन् । तर, त्यस्ता दृश्यका लागि हिरो, हिरोइन, स्टन्टम्यान र फाइटरले ज्यानको बाजी लगाएका हुन सक्छन् । सुरक्षा उपाय कमजोर हुने हुँदा सुटिङमा दुर्घटनामा नपरेका कलाकार भेट्न मुश्किल छ । खोज्दै जाने हो भने फिल्म सुटिङका क्रममा भएका दुर्घटना र कलाकारले भोगेको पीडाको सूची लामै छ ।

‘लात लाग्ने, मुक्का लाग्ने घटना त कति भोगियो, भोगियो,’ अभिनेता राजेश हमाल भन्छन्, ‘फाइटरहरू नयाँ–नयाँ हुन्थे । जोशमा आएर हान्थे, शरीरमा लागिहाल्थ्यो । राउन्ड किक हानेर मलाई दिउँसै तारा देखाइदिएका घटना त थुप्रै छन् ।’

सुटिङका दुर्घटना
अधिकांश कलाकारले फिल्म सुटिङका क्रममा कुनै न कुनै दुर्घटना भोगेकै छन् । केहीको दुर्घटना अनुभव डरलाग्दो छस्

निखिल उप्रेती, अभिनेता
अभिनेता निखिल उप्रेतीले दर्शकमाझ ‘एक्सन हिरो’को बलियो पहिचान बनाएका छन् । नेपाली फिल्ममा सात तलाबाट हाम्फाल्नेदेखि हेलिकप्टर स्टन्टसम्मको सुरुवात उनले गरेका हुन् । ‘मलाई चुनौती सामना गर्न मन पर्छ,’ उनी भन्छन्, ‘त्यसैले म स्टन्ट गर्न डराउँदिनँ । सुटिङका क्रममा यस्ता सामान्य चोटपटक त कति लागे, लागे । ’

रोचक कुरा के छ भने उनले ‘पिँजडा’ फिल्ममा सात तलाबाट हाम्फाल्दा केही भएन, हेलिकप्टरबाट पनि सकुशल ‘जम्प’ गरे । तर, १२ वर्षअघि फिल्म ‘भाग्य विधाता’मा सामान्य जम्प गर्दा उनको देब्रे खुट्टै भाँचियो । ‘त्यत्रो ठूलठूलो फाल हान्दा केही भएन, तर सानो जम्पमा दुर्घटना भयो । त्यतिबेला खुट्टा भाँचिएपछि डाक्टरले ‘कम्तीमा एक महिना रेस्ट गर्नू’ भने । तर, निर्माताको आग्रहले १० दिनमै सुटिङ थाल्नुपर्यो । यही हाम्रो विडम्बना हो ।’ आफ्नै फिल्म ‘भैरव’को सुटिङमा पनि फाइट सिन खिच्दा असन्तुलनका कारण दाहिने खुट्टा भाँचिएको उनले बताए ।

अभिनेता उप्रेतीले ‘मायाको जाल’ फिल्ममा मुग्लिनको पुलको लट्ठामा हिँड्दा दर्शकले पनि हेर्न नसकेर आँखा चिम्लेका थिए । ‘तर, मैले त्यो नौ चोटिको रिटेकमा फाइनल गरेको दृश्य थियो,’ उनले सम्झिए, ‘सुरक्षा उपाय केही पनि प्रयोग गरेको थिइनँ । झरेको भए सीधै मुग्लिनको खोलामा झरिन्थ्यो । सात तलाबाट हाम्फाल्नु र हेलिकप्टरबाट जम्प गर्नु पनि एक किसिमले मूर्खता नै थियो । यी सबै काम मैले ज्यान जोखिममा राखेर गरेको हुँ ।’

रजनी केसी, अभिनेत्री
डेढ वर्षअघि ‘चर्खा’ फिल्मको सुटिङमा अभिनेत्री रजनी केसीले त्यस्तै नमीठो दुर्घटना बेहोरिन् । कानमा इन्फेक्सन भएर उनले एक महिना आराम नै गर्नुपर्यो । ‘गीतको सुटिङ भइरहेको थियो,’ रजनीले घटनाक्रम सुनाइन्, ‘हिरोले मलाई स्विमिङ पुलमा फाल्नुपर्ने सिन थियो । ब्यालेन्स नमिलेर सीधै पुलभित्र परेँ । अनि कानमा पानी छिरेर इन्फेक्सन भयो । कानले दुःख दिएर एक महिनाजति मैले साह्रो खानेकुरा खान मिलेन, तरल पदार्थ मात्र खानुपर्यो ।’

झरना थापा, अभिनेत्री
अभिनेत्री झरना थापाले सुटिङका क्रममा बेहोरेको दुर्घटनाको सूची लामै छ । नेपाली फिल्मका ‘फाइटर हिरोइन’हरूमा उनको पनि नाम आउँछ । भारतमा ‘मुग्लान’ भन्ने फिल्मको सुटिङका बेला दौडिने क्रममा उनको दाहिने कुर्कुच्चामाथिको हड्डीमा गम्भीर चोट लागेको रहेछ । ‘त्यतिबेला मलाई डाक्टरले कम्तीमा १५ दिन रेस्ट गनुपर्छ भनेका थिए,’ उनले सम्झिइन्, ‘तर, विदेशमा भएकाले चाँडो–चाँडो काम सक्नुपर्ने थियो । त्यसैले जबर्जस्ती काम गरियो । यसरी काम गर्दा खुट्टामा निलो रगत नै जमेको थियो ।

खुट्टा निको हुन छरसात महिना नै लागको थियो ।’ हिट गीत ‘आज बाह्रहाते पटुकी’मा उनको खुट्टालाई राम्रोसँग नियाल्ने हो भने आज पनि उनको पीडा महसुस गर्न सकिने झरनाको भनाइ छ । हिट फिल्म ‘हामी तीन भाइ’को सुटिङमा पनि गाडी चलाउने सिनका बेला झरना दुर्घटनामा परेर घाइते भएकी थिइन् ।

राजेश हमाल, अभिनेता
अभिनेता राजेश हमालले आफ्नो अभिनय करिअरमा ताल–तालका दुर्घटना भोगेका छन् । स–साना दुर्घटनाका त हिसाबकिताब नै छैनन् । तर, केही मुटु नै कमाउने खालका दुर्घटना पनि छन् । शोभित बस्नेतको ‘जंगबाज’ फिल्मको सुटिङका बेला कानमै बन्दुक पड्केको घटना उनी कहिल्यै बिर्संदैनन् । ‘पिस्टोल समातेर भिलेनलाई ताक्ने सिन थियो,’ उनले भने, ‘नक्कली लोडेड बन्दुक थियो, सक्कलीभन्दा बढी आवाज दिने रहेछ । मैले कानमा दोबारेर बाँदरे टोपी नलगाएको भए मेरो कानको जाली नै फाट्थ्यो होला । देब्रे कानको मुन्द्रा लगाउने पाटातिर तीन टाँका लगाउनुपर्यो । त्यसपछि त लामो समय त्यही कानमा घन्टी बजिरहन्थ्यो । अहिले पनि प्लेन चढ्दा कटन मागिहाल्छु, नलगाई हुँदैन ।’

अभिनेता राजेश हमाल भन्छन्, ‘मैले गरिन्जेल त सुटिङमा सुरक्षा रामभरोसा नै थियो । सेफ्टी मिजर्स एकदमै कम थिए । घोडाबाट जम्प गर्नुपर्दा प्याड लगाइएको हुन्थ्यो, मुनी म्याट्रेस हुन्थ्यो तर भरपर्दो हुँदैनथ्यो ।’

झापाको कन्काईमाईमा ‘आफ्नो बिरानो’ फिल्मको सुटिङका बेला अभिनेता हमालले पनि ज्यानकै जोखिम बेहोरेका थिए । ‘खोलाको बगरमा हिरोइनलाई हातमा उचालेर दुई–तीन चक्कर घुमाउनुपर्ने सिन थियो,’ उनी अहिले पनि त्यो घटना सम्झिरहन्छन्, ‘ब्यालेन्स नमिलेर हामी दुवै किनारबाट खोलाको बीचबीचतिर पुगेछौँ । हामीलाई पानीको धारले बगाएर लगिरहेको थियो । युनिटकै एक जना केटाले बचाएका थिए । झण्डै ज्यान गएको १’

रेखा थापा, अभिनेत्री
अभिनेत्री रेखा थापा पनि सुटिङका क्रममा थुप्रै दुर्घटनामा परेकी छिन् । ‘‘जलजला’ फिल्मको पटाका पड्काउने दृश्यमा त्यसका छिर्का शरीरमा लाग्दा त बेकारमा एक्सन फिल्म खेलेछु जस्तो लाग्थ्यो,’ रेखाले भनिन्, ‘ ‘‘हिफाजत’को सुटिङ गर्ने क्रममा हेटौैँडाको सामरी पुलबाट हाम्फाल्दा थचारिएर नाकबाट रगत नै आएको थियो । सामान्य चोटपटक त कति लागे, लागे । हिरोइन भएर पनि होला एक्सन दृश्य गर्दा मनमा कता–कता अनुहार बिग्रिएला भन्ने डर भइरहन्छ । किनकि, दाँत मात्रै गयो भने पनि धेरै थोक जान्छ ।’

सरोज खनाल, अभिनेता
आजभन्दा २१ वर्षअघि फिल्म ‘पुकार’को सुटिङताका अभिनेता सरोज खनालको देब्रे हात भाँचिएको थियो । त्यसको असरले उनको हात अहिलेसम्म पनि दुख्छ । ‘नीर शाह र मेरो फाइटको दृश्य थियो,’ उनले झापा, बिर्तामोडमा छायांकन हुँदाको त्यो घटना सम्झिए, ‘फाइट खेल्दाखेल्दै बम पड्किनुपर्ने र त्यसपछि हामी दुवै बेग्लाबेग्लै दिशातिर हाम्फाल्नुपर्ने सिन थियो । नीर शाह झुक्किएर मतिरै हाम फाल्नुभयो । उहाँको ठूलो ज्यानले मलाई थिच्यो र मेरो हात भाँचियो । त्यसपछि प्लेन चार्टर्ड गरेर उहाँले मलाई काठमाडौँ ल्याएर उपचार गराउनुभएको थियो । २० दिनसम्म हात नै हल्लाउन नहुने गरी थला परेको थिएँ ।’

सुटिङका क्रममा अभिनेता सरोज खनालले यस्तो दुर्घटना भोगेका छन्, जसकारण उनी आफूले बाँचिरहेको जीवनलाई ‘दोस्रो जीवन’ भन्छन् । त्यो घटना ०५२ सालतिर फिल्म ‘जन्म जन्म’को सुटिङताकाको हो । पोखराका फेवातालमा सुटिङ भइरहेको थियो । एउटा डुंगामा ठूलठूला सोलार लाइटहरू राखिएका थिए । लाइटम्यानले मादक पदार्थ सेवन गरेको रहेछ । लाइट मिलाउन जाने क्रममा डुंगा पल्टिएछ । ‘पानीमा खस्न तीन सेकेन्डमात्र बाँकी थियो,’ खनालले सम्झिए, ‘युनिटकै एक जना सदस्यले हत्त न पत्त मेन सर्किट निकालिदिए । जसकारण २५ जना मान्छेको ज्यान जोगियो । खसेर पड्किँदा त बम पड्किएझैँ पड्किएको थियो । हामी पानीमा थियौँ । मर्यौंँ भन्ने ठानेका थियौँ । पछि बदमासी गर्ने केटालाई एक लात हानेँ । अनि ज्यान जोगाइदिने केटालाई दोस्रो जीवन दिएकोमा मसँग भएको सबथोक ९पर्स आदि० दिएँ । ’

केकी अधिकारी , अभिनेत्री
अभिनेत्री केकी अधिकारीले पनि सुटिङका बेला धेरै पल्ट दुर्घटना भोगेकी छिन् । ‘महसुस’ फिल्मको सुटिङताका बाइक दुर्घटनामा परेर घाइते भएकी थिइन् । त्यही घटनाका कारण अहिले पनि उनको खुट्टामा पानी जमेको छ । ‘‘आई एम सरी’ फिल्मको सुटिङका बेला पोखराको फेवातालमा खुट्टा चिप्लिएर लडेकी थिएँ,’ उनले सम्झिइन्, ‘क्यामेरा टेकरमात्र नजिक हुनुहुन्थ्यो । उहाँले तान्नुभएको थियो, म त बेहोसै भएकी थिएँ । त्यस्तै ‘माई प्रमिस’ फिल्मको बेला तिखो धार भएको चक्कुले मेरो घाँटीमा छोएर रगत आएको थियो ।’

वर्षा शिवाकोटी, अभिनेत्री

अभिनेत्री वर्षा शिवाकोटीले नेपाली फिल्ममा पाइला टेकेको धेरै भएको छैन । तर, उनले पनि दुर्घटना भोगिसकिन् । हेटौँडामा ‘कारखाना’ फिल्मको सुटिङताका बाइकबाट लडेर उनको टाउको र हातमा चोट लागेको थियो । सुटिङ पनि दुई दिनलाई रोकिएको थियो । ‘हिरोसँग बुलेट बाइक पछाडि बस्ने सिन थियो, त्यो नि वान साइडेड,’ वर्षाले सुनाइन्, ‘मैले लगाएको ड्रेस चिप्लो थियो । त्यसमाथि दुवै हातमा सामान बोकेकोले कतै समाउन मिल्थेन । त्यसैले बाइक स्टार्ट गरेर चलाउने बेलामा म हुत्तिएँ र सडकमा पछारिएँ । हात र टाउकोमा चोट लाग्यो । ’

सुटिङका क्रममा कलाकारले बेहोरेका यस्ता घटना थुप्रै छन् । अपवादलाई छाड्ने हो भने प्रत्येक कलाकारसँग केही न केही दुर्घटनाको अनुभव छ । अभिनेता आर्यन सिग्देललाई ‘किस्मत’ फिल्मका बेला खुट्टामा लागेको चोटले अहिलेसम्म दुःख दिइरहेको छ । फिल्म ‘आवेग’का बेला उनी सुटिङकै क्रममा घाइते भएका थिए । यता थुप्रै फिल्ममा एक्सन हिरोइनका रूपमा देखापरेकी अभिनेत्री शिल्पा पोखरेल पनि ‘हवल्दार सुन्तली’ को क्लाइमेक्स खिच्ने बेलामा बेहोस नै भएकी थिइन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *