Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

“ब्रान्डेड जिन्दगीको रङ“

“ब्रान्डेड जिन्दगीको रङ“

कथा/ब्रान्डेड जिन्दगीको रङ“वाउ! कस्तो राम्रो कलरको लिपिस्टिक, कुन ब्रान्डको हो? उनको प्रश्नले म एकछिन लाटिए,अस्ती भर्खर अफिस देखी फर्किदा आमाको लागि एउटा कपाल बाट्ने लाछा किन्न भनेर बजारको मुखैमा रहेको सानो कस्मेटिक पसलमा पस्दा हल्का गुलाबी रङको लिपिस्टिक यसै मन परेर किनेकी थिए,मैले ब्रान्ड हेरेर भन्दा पनि कलर मन परेर किनेकी थिए हुनत म अरु बेला पनि ब्रान्ड भन्दा पनि सहजता हेरेर हरेक सामानहरु किन्ने गर्छु शायद ब्रान्डले लिपिस्टिकको कलर त धान्न सकौला तर जिन्दगीको रङ धान्नु जो मेरो काधमा थियो र जिन्दगीको रङ भित्र मेरो परिवार थियो ।

लगभग झन्डै दस बर्ष पछीको भेटमा उनलाई मेरो मित्रताको रङले भन्दा पनि मेरो लिपिस्टिकको रङले आकर्षित गरेको थियो । धन्न यो लिपिस्टिक लाएछु र यती भए पनि उन्को नजर म माथि पर्‍यो,मङ्सिरको अन्त्य तिर बढिरहेको जाडोको गतिले ओठ फुटेर उसिनेको आलुको बोक्रा जस्तै पटपट भएको थियो त्येसैलाइ जबरजस्ती छोप्न हतार-हतार टेबलमा लडिरहेको लिपिस्टिक उठाएर लतरपतर दलेकी थिए नत्र अरुबेला प्राय: मेरो अनुहारले केही दलिमाग्न कमै मौका पाउछन ।

म भने उनलाई देख्न हतारिएकी थिए,उनको बिहे पछी एकपटक एकदमै हतारमा भेट भएको थियो लिपिस्टिक त के राम्ररी एक-अर्कालाई नजिकबाट हेर्ने मौका पनि भएन । हतारमा एयर्पोर्टमा भेट भएको थियो, म भाईलाई पुर्याउन गएकी थिए बैदेशिक रोजगारको लागि खाडी मुलुक साउदी अरब जादैथियो भने उनी अर्थात माला युरोप बेलायत तिर श्रीमान सँग जादैथीन ।उनी चेकइन गरेर भित्र पसिसकेकी थीइन त्येसैले एकार्कालाई चिनेर बाहिर र भित्र बाट हात हल्लाएर हाइ हेलो गर्यौ ।

उनको खास नाम मालती तर अहिले फेसबुकमा उनको नाम माला बनाएकी छिन । हामी एउटै गाउमा जन्मेका र बच्चा बेला सँग सङै खेलेर हुर्क्यौ हामी निकै मिल्ने साथीमा पर्थ्यौ गाउकै स्कुलमा सङै आठ कक्षा सम्म पढ्यौ, उनको बुवा गाउको सानोतिनो नेता थिए भने आमा त्यही गाउमा हामी पढ्ने स्कुलमै शिक्षिका थिइन् । सबै बिद्यार्थीका प्यारी सबिता मिस हुनुन्थ्यो । हेडसरले उहालाइ मिस हैन म्याडम भन्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो तर मिस भन्न अभ्यस्त भएको हाम्रो जिब्रोलाई म्याडम भन्न कहिल्यै बानी परेन, त्येसैले हामी सधैं सबिता मिस भनिरह्यो,उहा त सबै बिद्यार्थीकै प्रिय मिस नै हुनुन्थ्यो र म पनि उहाको प्रिय बिद्यार्थीमा पर्थे शायद उहाको छोरीको मिल्ने साथी भएर पनि हुन सक्छ ।

सबिता मिस एकदमै भलाद्मी र आदर्शबादी नारी हुनुन्थ्यो आज म जे जती छु धेरै जसो उहाकै प्रभाब छ म भित्र, उहा बिशेष गरी हामी केटीहरुलाई खुब महत्व दिएर कोर्सबुक सङ्गै जिन्दगीको पाठ पनि पढाउनुहुन्थ्यो । बाहिरी श्रिङ्गार भन्दा आफु भित्रको श्रिंगार गर्न जान्नुपर्छ,नारी पछी पर्नुको कारण सधैं पुरुषहरुको भरमा परेर हो । महिला आँफै आफ्नो खुट्टामा उभिन सक्यो भने पुरुषको खुट्टा ढोगेर उनिहरुको कमाइ मागेर खान पर्दैन स्वातन्त्र आफु भएर बाँच्न पाईन्छ, सधैं श्रिमानले नै श्रीमती अनी घरपरिवारलाई पाल्नु पर्छ भन्ने छैन भन्ने गर्नुहुन्थ्यो । उहा जती आर्दशका कुरा गर्नुहुन्थ्यो ब्याबहारमा पनि त्येती नै प्रखर हुनुन्थ्यो । उनको श्रीमान अर्थात मालाको बुवा सधैं राजनीति गर्दै दिनभरी गाउ मात्र डुल्थे सबिता मिसले नै श्रीमान छोरी लगायत श्रिमानको सारा परिवार सम्हालेका थिए,परेको खण्डमा माइतीको परिवार प्रती पनि उत्तिकै उत्तरदायी हुनुन्थ्यो ।

पछि हामी आठ कक्षाको जिल्ला स्तरिय परिक्षा दिसके पछि सबिता मिसको सदरमुकामको स्कुलमा सरुवा भयो । उनैको श्रिमानले नेताहरुसँग भन्सुन गरेर सरुवा भएको भन्थे गाउघरमा,हामी त त्येती कुरा बुझ्ने भाईसकेका थिएनौ, सबिता मिसको सरुवा सङै सबै परिवार उतै सरे र माला पनि हामी सँग छुट्टीयो । सबिता मिसको बिदाइमा बिद्यार्थीहरुको कोलाहल रुवाइ भित्र सबभन्दा दु:खी हुने मध्ये म पनि एक थिए ।

झन पिडाले मुटु यस्तरी निचोरियो कि जब सरुवा भएकै साल सबिता मिसको घरमै रहस्यमयी मृत्‍यु भयो । उन्कै श्रिमानले मारेको हो बाहिर थुप्रै केटीहरु सँग रसरङ्ग गर्दै हिड्थे र घरमा सधैं श्रीमती सँग रमाइलो गर्ने पैसा झगडा गर्दै माग्थे रे र यही निहुमा श्रीमतीलाई मारेर आत्माहत्या गरेको भनेर ढाकछोप गरेको भनेर गाउभरी हल्ला भयो उनको माइती पक्षले ज्वाँई बिरुद्द उजुरी पनि दिए । तर उनी ठुल्ठुला नेताहरुको जुत्ताको धुलो चाट्ने बफादार कार्यकर्ता भएको गुणले अन्तत पोस्टमार्टममा आत्माहत्याकै रिपोर्ट निकालेर कानुनी रुपमा सबैको मुख बन्द गरे पनि अझै सम्म यो कुरा जनमानसमा बन्द भएको छैन र त्यसै साल आफु भन्दा १६ बर्ष कान्छी तरुनी भित्राएर पुन बेहुला बने ।

मालाले आफ्नी आमाको मृत्‍युबारे के बोलिन के सोचिन थाहा भएन त्यतिबेला हाम्रो खासै बुझ्ने उमेर पनि भएको थिएन तर मलाई भने गहिरो सक लाग्यो । म हरबखत सबिता मिसको मृत्‍युको वरीपरी घुमिरहन्थे, नचाहेरै पनि उनकै बिषयमा मन र दिमागले सोचिरहन्थ्यो । उनी मन र बिचारले जति बलियो भए पनि बलमा भने पुरुष भन्दा कम्जोर भएर अकालमा आफ्नो ज्यान गुमाउनु पर्‍यो भन्ने कुराले खुब पिरोलिरह्यो । उनको रहस्यमयी मृत्‍यु, उनको श्रिमानको अरु धेरै महिलाहरु सँगको सम्बन्धको हल्लाले मलाई बिस्तारै पुरुषहरु प्रती बित्रिष्णा जाग्दै गयो ।

एसएलसि दिने बित्तिक्कै मालाको सदरमुकाम मै घर भएको लाहुरे सँग बिहे गरिन, उनको बुवाले गाउमै आएर धुमधामले बिहे गरिदिए । बिहे सक्ने बित्तिकै उनिहरु उतै सदरमुकाम फर्किहाले खासै कुरा हुन पाएन उनले यती छिटो आफ्नै खुशीले बिहे गरिन कि बुवाको करकापमा होला भन्ने प्रश्न चै सधैं मनमा खड्किरहन्थ्यो । पछी एक बर्ष जती कलेज पढेर उतै श्रीमान बाहिर गए भन्ने सुनेको हो त्यति बेला मोबाइल, इन्टरनेटको सुबिधा थिएन त्येसैले पनि प्रत्यक्ष हाम्रो कुरा हुन पाएन ।

म कलेज पढ्न राजाधानी गए पछी म आफ्नै पढाईमा अल्मलिन थाले, छुट्टीमा गाउ जादा सबै स्कुले साथीहरुको याद आउथ्यो, माला त झनै मिल्ने साथी थीइन उनको खुब याद आउथ्यो तर अब चाहेर पनि उनी सँग प्रत्यक्ष भेट हुन गाह्रो थियो, यही बिचमा उनले बिहे गरेको लगभग पाच बर्ष पछी एयर्पोर्टमा भेट भएको थियो त्यो पनि १० बर्ष भइसकेछ ।

आफ्नो खुट्टामा उभेर सक्षम हुने दौडधुपमा लब गर्ने समय जुरेन, सक्षम भईसके पछी पनि किन हो बिहे गर्न जागर चलेन । जब बिहेको कुरा आउथ्यो मलाई सबिता मिसको मृत्‍यु सम्झेर मुटु थरर हुन्थ्यो, एउटा पुरुषले अनाहकमा ज्यान लियो भन्ने सम्झेर आफ्नो भाबी श्रिमान भित्र पनि त्यही सबिता मिसको श्रिमानको छाया मडारिएको देख्थे ।

म एउटा सरकारी कार्यालयको प्रमुख पदमा छु, त्यो देखी बाहेक बाहिर बिभिन्न सँघ सस्थामा आबद्द छु आमा बुवालाई राम्ररी हेरचाह गर्न सकेकी छु कसैको भर पर्न परेको छैन, समाजमा मान प्रतिस्ठा पनि आँफैले बनाएकी छु । म सँग अब जिन्दगीमा अपुग केही छैन जस्तो लाग्छ तर आमा भने सधैं मेरो बिबाहको कुराले चिन्ता ब्याक्त्त गरिरहनुहुन्छ, गाउ समाजले बुडिकन्या भनेर कुरा काटिसके भनेर बारम्बार मलाई बिहे गर्न जोड दिरहनुहुन्छ । म चौतिस बर्ष पुगे मेरो उमेरको पुरुषले छिमेकमा भर्खर १७ बर्षकी कन्या भित्राएको छ तर उसको उमेर बिहे गर्नलाई ठीक्क भएको छ भन्छ समाज त्यही उमेरको मलाई भने बुडिकन्या भनेर नारिको कमजोरपनालाई कुल्चिन खोज्छ तर म यस्ता कुराबाट कती पनि बिचलित थिइन । जो सबिता मिसले आफु नारिको महत्व चिन्न सिकाउनुभएको थियो तर कहिलेकाही आमाको चिन्ताले गर्दा विवाह गरिहालु कि भन्ने सोच नआएको पनि हैन ।

मेरै उमेरकी मालाको छोरी झन्डै आमा जत्रै भईसकेकी थिन, फेसबुकमा देखेकी माला फेसबुकमा सार्है एक्टिभ छिन, छिन छिनमा फोटोहरु पोस्ट गरिरहन्छिन, घुमेको, डुलेको, खाएको दिनभरी को डायरि जस्तै हुन्छ उनको फेसबुक वाल, म चै ब्यस्तता सङै महँगो नेटले गर्दा एकदम कम फेसबुक चलाऊछु । फेसबुक एकाउन्ट खोलेको नि धेरै भएको छैन त्यो पनी आठ कक्षामा पढ्ने मेरो भदैनिले कर गरेर खोलिदिएकी उनै भदैनिले सिकाएकी साथीहरुको नाम सर्च गरेर खोज्नुस् भनेर सबै भन्दा पहिला मैले मालती कै नाम सर्च गरेकी थिए तर मालती नाम धेरै आए पनि मैले चिनेको मालतिको फोटो कही भेट्टाउन सकिन ।

एकदिन उसैको फ्रेण्ड रिकुएस्ट आयो माला नाम बाट फोटो हेर्दा पनि झन्डै नचिनेको उसैले म्यासेज गरे पछी मात्र कन्फर्म भएकी थिए त्यस पछी भने हाम्रो कहिलेकाही कुरा हुने गर्थ्यो । हरेक पल्ट उन्को एउटै प्रश्न हुन्थ्यो ‘आश्ना तिमी किन फेसबुकमा केही पोस्ट गर्दैनौ?”

मेरो हरेक जवाफ यही हुन्थ्यो-‘समय नपाएर’
“म अब डिसेम्बरमा नेपाल आउँदैछु” उस्ले एक महिना अघी मलाई म्यासेज गरेकी थीइन, उस्को म्यासेजले म एकदमै उत्साहित भए किनकी भर्खरै मेरो सरुवा पनि सदर्मुकाममा भएको थियो र भेट हुनेवाला कन्फर्म थियो । उनी नेपाल आएकै भोली पल्ट उनकै घरको छिमेकिको बिहे थियो, हाम्रै अफिसमा कार्यरत बहिनिको बिहे हुनाले हामी सबैलाई निम्तो थियो र मेरो बालसखी साथी मालती सँग पनि त्यही बिहेमा भेट हुने सम्योग मिलेको थियो ।

उनलाई भेट्न अघी निकै उत्साहित थिए, साथी मात्र नभएर सबिता मिसको एउटा अङ्ग भएको कारण पनि मलाई झनै भेटेर धेरै कुरा गर्न हतारिएकी थिए, एकार्काको जिन्दगीका बिभिन्न रङहरु सोधासोध गर्न उत्साहित भएकी थिए । सबिता मिसको प्रभाब म एउटा सिर्फ उनको बिद्यार्थीमा त यत्रो प्रभाब परेको छ झनै उनको आफ्नै छोरीमा त कती धेरै प्रभाब परेको होला शायद उनको छोरी सँग कुरा गर्दा पनि सबिता मिसको अभाब पुरा हुन्छ होला । सबिता मिसले जस्तै जिन्दगीमा अघी बढ्ने प्रेरणाको कुराहरु गर्छिन होला भनेर खुशी हुँदै कल्पना गरेकी थिए तर भेट्न साथ उस्ले ओठको लिपिस्टिकको ब्राण्ड सोधेर मेरो आदर्श सबिता मिस ओझेल परी ।

“ब्रान्ड त थाहा भएन मलाई” एक्छिन अल्मलिएर उत्तर दिए अनी अलिकती उनलाई हेरेर मुस्कुराए
लिपपोत गर्न कतै बाँकी नरहेको उनको धपक्क बलेको अनुहार अझ चम्काउदै बोल्न थाली- ‘ब्रान्ड त हेरेर मात्र सामान किन्नु पर्छ, सस्तो अनब्राण्डेड सामनले त मलाई एलर्जी हुन्छ, यो मैले लाको लिपिस्टिक सिनेलको हो, अनी यो आइ स्याडो हुडा को हो, यो ब्याग गुच्छी को अस्ती भर्खर बुडाले बर्थडे गिफ्ट दिनुभाको चार सय पाउन्डको तर मेरो फेभरेट ब्रान्ड चाइ एमके हो एलभि पनि नट ब्याड ।

अरु के-के भन्दैथी मलाई राम्रो याद भएन, हामी त्एस्पछी के के बोल्यो थाहा भएन । टाउको रिनिन्न भए जस्तो भो जान्छु पनि नभनी फन्नक्क आफ्नो कोठामा फर्केर आएछु ।कोठामा आएर पो झसङ्ग भए दुलहिलाई लगिदिएको गिफ्ट पनी नदी आएछु ।आफ्नो जिन्दगीको ब्रान्ड बनाउन सिकाउने उनै सबिता मिसको छोरी बजारमा पाइने सामनको ब्रान्ड चिन्न सक्ने भएकोमा खुशी हुने कि दुखी झनै अल्मलिरहे । क्रमश
शुष्मा रुपाबुङ(हाल-ब्रुनाई)


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *