Search
Wednesday 19 September 2018
  • :
  • :
Latest Update

ऐँंसेलु बेचेर करोड आम्दानी

ऐँंसेलु बेचेर करोड आम्दानी

ऐँंसेलु जंगलमा फल्छ । बटुवा वा गोठालाले टिपेर खाएमात्र यसको खपत हुन्छ, नत्र झेरर जान्छ। अहिलेसम्म नेपालमा यसको व्यावसायिक खेती भएको सुनिएको छैन। तर ऐँसेलु बेचेर यो सिजनको २ महिनामा भने एकै गाउँका कृषकले १ करोड रुपैंयाभन्दा बढी आम्दानी गरेका छन्। संखुवासभा टुटेको मकालु वाइन इन्डष्ट्रिजलाई ऐँंसेलु विक्री गरेर उनीहरूले करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन्। यो खबर तेह्रथुमबाट प्रकाश पाक्साँवाले आजको कारोबार दैनिकमा लेखेका छन्। वाइनलाई थप स्वादिलो बनाउन कच्चा पदार्थको रुपमा ऐँंसेलु प्रयोग हुन्छ। लालिगुराँस नगरपालिका सुङनामका पुन्य तिम्सिनाले २ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको बताए। त्यस क्षेत्रका सोल्मा, सुङनाम, सन्सारे, वसन्तपुर, फुलेक, दागपा, काटे लागायतका बासिन्दाले ऐँसेलु विक्री गरेर ५० लाखभन्दा बढी भित्र्याएको बताउँछन्। धनकुटा मारेककटहरे माझखर्कका रुद्र गुरुङले दुई महिनामा गाउँलेले टिपेको ऐँसेलु ट्र्याक्टरमा ढुवानी गराएर ६ लाख ५० हजार रुपैंयाँ आम्दानी गरेको बताए। संखुवासभाको तामाफोक ९ टुटेमा खुलेको वाइन उद्योग तेह्रथुम, संखुवासभा र धनकुटाका बासिन्दाका लागि ऐँसेलु विक्री गरेर गाउँमा करोडौं रुपैंया भित्र्याउने माध्यम वनेको छ।

यस वर्ष वैशाख दोस्रो साताबाट जंगलमा फलेको ऐँसेलु टिपेर तामाफोक, मारेकटहरे, परेवादिन, आङदिम, हमरजुङ, फुलेकलगायतका दर्जन बढी स्थानका बासिन्दाले ४० लाखभन्दा बढी रुपैयाँ गाउँमा भित्र्याएको उद्योगका सञ्चालक सुजन श्रेष्ठले बताए। ऐँसेलुवाट उद्योगले ‘हिंवा’ व्राण्डको वाइन उत्पादन गर्दै आएको छ। जंगलमा निशुल्क टिप्न पाईने ऐँसेलु प्रतिकेजी ५० रुपैयाँसम्ममा विक्री भएपछि किसानले निजी र सामुदायिक वनमा ऐँसेलुको व्यावसायिक खेतीसमेत सुरु गरेका छन्। गाउँलेले जंगलमा टिपेको ऐँसेलु खरिद गरेर उद्योगलाई विक्री गर्ने बिचौलियाहरूले समेत दुई महिनाको अवधिमा लाखौं रुपैयाँ कमाइ गरिरहेका छन्। परेवादिन–६ धनकुटाकी रिता भट्टराईले गाउँ नजिकको जंगलमा टिपेको ऐँसेलु विक्री गरेर यो सिजनमा ३५ हजार रुपैंयाँ आम्दानी गरेको बताइन्। पछिल्ला वर्षहरूमा सामुदायिक वनले समेत ऐँसेलुको व्यावसायिक खेती गरिरहेका छन्। सामुदायीक वनलाई केही पैसा बुझाएपछि सिजनभर ऐँसेलु टिप्न पाइने गरेको परेवादिन धनकुटाका ऐँसेलु संकलनकर्ता धन वहादुर कार्कीले वताए । ऐँसेलुवाट किसानले राम्रो आम्दानी गर्न थालेपछि वन कार्यालयले समेत सामुदायिक वनमार्फत ऐँसेलु खेती गर्न उपभोक्तालाई प्रोत्साहित गरिरहेको तेह्रथुमका सहायक वन अधिकृत ललन यादवले वताए।

गाउँलेले जंगलमा टिपेको ऐँसेलु खरिद गरेर उद्योगसम्म ल्याउने काममा मात्र यो सिजनमा १० जना बढी व्यापारी संलग्न छन् । उनीहरूले गाउँलेसँग प्रतिकेजी ५० रुपैंयामा ऐँसेलु खरिद गरेर उद्योगलाई ६० रुपैंयाका दरले विक्री गर्दै आएका छन्। गाउँलेले टिपेर ल्याएको ऐँसेलु केलाउने, ड्रममा हालेर घोल्ने, प्रशोधन गर्ने लगायतका काममा १ सय वढी युवा युवतीले रोजगार पाएका छन्। ऐँसेलुबाट सेतो रङको वाइन उत्पादन हुन्छ। नेपाली समाजमा वाइन पिउने संष्कृति विस्तारै विकास हुदै गएकाले जंगलमा खेर जाने फल ऐँसेलुको समेत खपत बढेको सञ्चालक श्रेष्ठले बताए। जंगली वनपाखामा फलीसकेर त्यसैखेर गइरहेको ऐँसेलुबाट तयार भएको वाइनको पछिल्लो समय युरोपीय मुलुकबाट समेत माग आइरहेको उद्योगले जनाएको छ। तर जंगली फल ऐँसेलु मौसममा आधारित हुने भएकाले सँधै एकैनासले उत्पादन हुँदैन। कच्चा पदार्थ ऐँसेलुको उत्पादनमै उतारचढाव भैरहने हुनाले मागेजति उत्पादन वजारमा पठाउन नसकिएको सञ्चालक श्रेष्ठको भनाइ छ।

केही वर्ष अघिसम्म विदेशी वाइनले ओगटेको स्थानीय वजार अहिले पहाडी चिसो हावापानीमा फलेको ऐँसेलुबाट तयार गरिएको वाइनले लिँदै गएको छ। वनपाखामा फलेको ऐँसेलु निशुल्क टिप्न पाइने भएकाले ऐँसेलु फल्ने क्षेत्रका विद्यालयका विद्यार्थीसमेत पढाई छोडेर जंगल जाने गरेको सोल्माकाडेका शिक्षक राम तामाङले बताए। दुई महिना ऐँसेलु खोजेर विक्री गरेको पैसाले विद्यार्थीले विद्यालय पोशाक, कापी कलम, जुत्ता लगायतका सामग्री जुटाउने गरेको शिक्षक तामाङले बताए। ऐँसेलुवाट उद्योगले अहिले वार्षिक १ लाख ६६ हजार लिटर वाइन उत्पादन गर्दै आएको जनाएको छ। गर्मी होस या जाडो, कुनै औपचारिक कार्यक्रम होस या पार्टी, सबै उत्सव र समारोहमा वाइन पिउने जमात वढ्दै गएको छ। श्रेष्ठका अनुुसार हिंवा वाइनमा १२ प्रतिशत भन्दा कम अल्कोहलको मात्रा छ। फलफूलमा हुने चिनीको मात्रा र थप चिनी मिलाएर फर्मेन्टेड गरेपछि अल्कोहलमा परिणत हुने श्रेष्ठले बताए।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *