Search
Wednesday 19 September 2018
  • :
  • :
Latest Update

किन अहिल्यै हतारिन्छौ बसौंला नि भरे राति … पुरा कथा पढ्नुहोस

किन अहिल्यै हतारिन्छौ बसौंला नि भरे राति … पुरा कथा पढ्नुहोस

किन अहिल्यै हतारिन्छौ बसौंला नि भरे राति … पुरा कथा पढ्नुहोस
किन रोयौ भन तिमी मनको बलेसीमा, किन राख्यौ चोखो मुटु तीखो चुलेसीमा …।’गायक सुनिल बर्देवाले यो गीत कतै भेटे, मन पर्‍यो, कम्पोज गरे। तर, ब्लकबस्टर ‘गोरेटो अनि उस्तै छ तिमी कतै बदलियौ कि?’ गाउने ती स्वर्गीय गायकले आफैंले त्यो गीत गाएनन्। आफ्ना चेला संजीव सिंहलाई यही गीतमार्फत् नेपाली संगीत क्षेत्रमा उभ्याए।

पोखराका प्रकट पगेनी ‘शिव’ को कानमा पनि त्यो गीत गुञ्जियो। ‘आफैंले लेखेको गीत सुरुमा सुन्दा निको लागेन, तर सुन्दै गएपछि भने आनन्द लाग्यो’, प्रकटले सुनाए, ‘त्यसपछि मकहाँ गीत माग्न आउनेहरुको धुइरो नै लाग्यो।’गीत असाध्यै चल्यो। संजिव चम्किए। प्रकट जस्ता थिए, उस्तै रहे। हो, प्रकट पगेनी ‘शिव’ लाई चिन्नेहरु भन्छन्, ‘उनको जीवनको आफ्नै ताल र रफ्तार छ।’

र, प्रकट यही ताल र रफ्तारमै सन्तुष्ट छन्। कहिले उनी गुमनामजस्ता लाग्छन्, त कहिले देशैभर श्रृंगारिक गजलमार्फत् सुनिन्छन्।

सानैदेखि राम्रा अक्षर लेख्ने शिवराजले एकदिन आफ्नी विदेशी गुरुआमाको मुखबाट निस्केको ‘प्रकट’ शब्दलाई नाम पछाडि होइन, अगाडि झुण्ड्याउने निधो गरे। कविता, कथा र गीतमा रुची त छँदै थियो, खासमा उनी सानैदेखि साहित्यको सागरमा होमिएका थिए।

एसएलसीसँगै जन्मस्थान कास्कीको देउराली छाडेर उनी पोखरा हानिए। तीसको दशक पोखराका युवाहरु जुर्मुराएको समय। पोखरेली युवा साहित्यिक परिवारले पोखरामा टिकटमै मुक्तक परम्पराको सुरुवात गरेको थियो। एकसे एक कविहरु तँछाडमछाड गर्दै साहित्य सृजनामा होमिएको बेला थियो। प्रकटले सरुभक्त, तीर्थ श्रेष्ठलगायत नाटक क्षेत्रमा रमाएका प्रकाश घिमिरेसम्मको संगत गर्न भ्याए।

‘आफ्ना सृजना सुनाउनु र अर्काको सुन्नु त्यो बेलाको सुन्दर पक्ष थियो’, प्रकटले भने, ‘साहित्यिक क्षेत्रमा देखिएका विभिन्न परिवर्तनहरु पनि हाम्रा गफका विषय बन्थे।’

अक्षर राम्रा लेख्थे पगेनी। सीपलाई साइनबोर्ड लेख्ने व्यवसाय बनाए। लुम्ले कृषि केन्द्रमा जागिरे बने। ‘नेपालको चेरापुञ्जी’ मा दश वर्ष बिताउँदा उनले प्रकृतिलाई नजिकबाट नियाले, झरीमा जीवन देखे, अनि अभावमा सौन्दर्यचेत पनि त्यहीँ जागृत हुन पुग्यो। उनले त्यो बेला ‘अन्ना’ लाई खुबै सम्झिए।

उनका सृजनामा बारम्बार प्रेमिकाको रुपमा आउने अन्ना को थिइन्? प्रकट यो कुरा रोमान्टिक बसाईमा पनि फुस्काउँदैनन्, बरु उनी बोल्दा मुस्कुराउने आफ्नो ब्राण्डलाई अझ जीवन्तता दिँदै भन्छन्, ‘अन्ना काल्पनिक पात्र हुन्।’लामो साहित्यिक सक्रियतामा उनले ‘यो मन कतै अल्झेको छ’, ‘जुनको चिठी जुनालाई’, ‘प्रणयवेदका ऋचाहरु’ जस्ता कृतिहरु बजारमा ल्याए।

सरलता उनको विशेषता हो भने यौन र प्रेम उनका सृजनाका विषयहरु।

‘किन त?’

उनी सहजै उत्तर दिन्छन्, ‘प्रेम मेरो रहर हो। म यसमै रमाउँछु। हरेक मानिस प्रेम र यौनमा आवद्ध हुन्छ। प्रेमका विषयमा लेखिएका कुराले मानिसको मन छिट्टै छुन्छ।’

हो, उनले लेखे:

तप्प तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा! नुहाएर के निस्कियौ

भाग्यमानी रैछ साबुन फिँजैफिँज भै बरालियो
जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ

पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानीमा यस्तो रूप डुबाएर के निस्कियौ

घामको कुरा नगरौं भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ
त्यै गाँठोमा गाँठो पार प्रकटलाई ओ रूपसी!
जुन गाँठोमा कोमल अङ्ग लुकाएर के निस्कियौ !

साठी काटेका प्रकट प्रणयवेदका ऋचाहरुसँगै ‘बिकाउ’ बन्न पुगे। श्रृंगारको नाममा गजललाई ‘भल्गर’ बनाएको आरोपमा घेरिए उनी। उनका सृजनाहरुलाई युधिर थापाका उपन्यासहरुसँग तुलना समेत गरियो।

तर अहँ, प्रकट भने मदमस्त! रोकिँदै रोकिएनन्। बरु, उनी देशव्यापी एकल गजल वाचनमा व्यस्त हुन पुगे। उनका रसिला गजलहरु हङकङदेखि राजधानीसम्म गुञ्जिए। यौन र प्रेमका उनका अभिव्यक्तिहरु ‘भ्यालेण्टाइन ब्राण्ड’ बन्न पुगे।

रौसिएका प्रकटले भ्यालेण्टाइन जोडीको मनको कुरा भन्न पनि बाँकी राखेनन्, अनि खुलस्त भनिदिए, ‘जब बाटोमा, पार्कमा प्रेम जोडीहरू देखिन्छन्, म भित्रभित्रै मुस्कुराउँछु। मन परेको मानिससँग हुँदा घाम नअस्ताइदिए हुन्थ्योजस्तो लाग्थ्यो। अहिले पनि त्यो कुराले एकदमै छुन्छ।’

तर, उनले प्रेमलाई रुमानी साँझको कल्पनासम्म पुर्‍याउन भने छाडेका छैनन्ः

किन अहिल्यै हतारिन्छौ बसौंला नि भरे राति
दुबै ज्यानले दुबैलाई कसौंला नि भरे राति

साँझपख पिउने बेला आयौ एक्लै एकान्तमा
यी ओठले ती ओठलाई डसौंला नि भरे राति

पहिलो चरण स्वागतमा औंलाहरू चुम्न देउ
दोस्रो चरण अंगालोमा कसौंला नि भरे राति

अहिले मलाई पिउन देउ मस्तमस्त नशालु भै
जे जे घस्नुपर्छ चिल्लो घसौंला नि भरे राति

बाहिर जुनको जुनेलीमा बसौं एकछिन् बात मार्दै
पख पख पसौंला नि कोठाभित्र भरे राति

त्यसो त, गीतकार न परे! समाजमा प्रेम र रोमान्स मात्र कहाँ छ र? प्रकट समाजभन्दा निरपेक्ष कसरी हुन्थे र?

‘हामी बाँचेको समाजबाट निरपेक्ष रहने प्रश्नै रहन्न, म पनि त्यस्ता कुरा अनुभूत गर्छु’, उनले भने, ‘तर दुःखमा पनि सुख र घृणामा पनि प्रेम देख्नु मेरो विषेशता हो।’

त्यसैले त उनले भोक शीर्षकमा लेखेः

भोलिदेखि म भोक लाग्यो भनेर रुन्न आमा
साँच्चै भन्छ्यौ भने र विश्वास गछ्र्यौ भने
आज म भोकभोकै खाएर कहिल्यै भोक नलाग्ने गरी अघाएको छु।

सृजनाको हुट्हुटी मरेको छैन। उनी निरन्तर सृजनामा छन्। गन्धर्वबस्ती बाटुलेचौरतिर बरालिँदा उनको मनमा समाजका हरेका उच्वाछहरु तरङ्ग बनेर आउँछन् र सृजनामा कैद हुन्छन्। भ्यालेण्टाइन ब्राण्डका गीतकारले अब बजार तताउने कहिले त?

प्रश्नमा उनी मुस्कुराउँछन् र भन्छन्, ‘सृजनाको लालसाकै बीच प्रकाशनको हुटहुटी पनि शान्त पार्ने प्रयत्नमा छु।’

यति भन्दै साँझको समयमा उनी फेरि रोमान्टिक बने। र, कल्पनामै सही, प्रेम र यौनको भ्यालेण्टाइन ब्राण्डलाई अझ ब्राण्डिङ गर्न भ्याएः

हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो
सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो

वारिबाट पारिसम्म छोटो बाटो भए पनि
आले-टाले गर्दै बेला टार्नुको मज्जा बेग्लै थियो

भेल थियो भेलमा उनले डराएर टेक्नै छाडिन्
मलाइ भने यस्तै मौका पार्नुको मज्जा बेग्लै थियो


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *