Search
Sunday 18 November 2018
  • :
  • :

नर्वेमा “बोबी” को प्रिमिएर गर्दै निर्देशक चाम्सले खोले नर्वेमा नेपाली चलचित्र प्रदर्शनको ढोका

नर्वेमा “बोबी” को प्रिमिएर गर्दै निर्देशक चाम्सले खोले नर्वेमा नेपाली चलचित्र प्रदर्शनको ढोका

दर्पणनेपाल डटकम :
यो बर्षको बहुप्रतिक्षित चलचित्र “बोबी” को नर्वेमा भव्य तरिकाले रेड कार्पेट प्रिमिएर गरिएको छ । करिव ४०० जना भन्दा बढी व्यक्तिहरुको उपस्थितिमा उक्त रेड कार्पेट प्रिमिएर शो सम्पन्न भएको खबर प्राप्त भएको छ । मिलन चाम्सद्वारा निर्देशित यस चलचित्रको रेड कार्पेट प्रिमिएर संगै अब नर्वेमा पनि नेपाली चलचित्र प्रदर्शनको लागि ढोका खुलेको छ । प्राप्त जानकारी अनुसार चलचित्र “बोबी” हेर्नको लागि नर्वे , इटली , माल्टा ,युके लगायतका देशहरुमा रहेका नेपालीहरुको उपस्थिति रहेको थियो । यस्तै चलचित्रमा नर्वेजियन सब टाईटल समेत समावेश रहेकोले धेरै को संख्यामा नर्वेजियन दर्शकहरुको पनि सहभागिता रहेको थियो ।


यो चलचित्र रियल जोडी उमेश थापा र कविता गुरुङको सत्य घटनामा आधारित रहेको छ जसमा यी दुवैको मुख्य अभिनय रहेको छ । दुवै जनाको प्रेम, संघर्ष र सफलताको कथा “बोबी” भित्र छ । विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन् । पेसाले उमेश इन्जीनियर हुन् भने कविता होटल म्यानेजर हुन् । सिनेमामा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र हेरेको हरेक दर्शकहरुको मुखबाट मात्र अत्याधिक राम्रो चलचित्र रहेको बोलि सुनियो । विदेशमा रहेर यस्तो किसिमको नेपाली चलचित्र हेर्न पाउँदा निकै खुशी लागेको र नेपाली चलचित्रको स्तर पहिला भन्दा धेरै माथि समेत पुगेको अनुभूति रहेको उपस्थित नेपाली दर्शकहरुले बताए । नर्वेमा प्रिमिएर गरे संगै चलचित्र “बोबी” को निर्माण पक्षले नेपालको प्रदर्शन मिति समेत सार्वजनिक गरेको छ । निर्माण पक्षको अनुसार यहि साउन ४ गते देखि नेपालमा यो चलचित्र प्रदर्शनमा आउने छ ।


नर्वे प्रिमिएरको विषयमा बोल्दै निर्देशक मिलन चाम्सले नेपाली चलचित्र क्षेत्रको इतिहासमा नै पहिलोपल्ट चलचित्र क्षेत्रलाई विश्वव्यापी रुपमा फराकिलो बनाउदै लैजाने प्रयासको सानो निरन्तरताबाट आज नेपाली कथानक चलचित्र “बोबी” सुन्दर देश नर्वेको सुन्दरनगरी आेस्लोको भिका भिक्टोरिया सिनेमा हल (जहाँ हलिउड चलचित्र मात्र हेर्न पाईन्थ्यो )मा विशेष रेडकार्पेट प्रिमिएर भएको र यसले नेपाली चलचित्रलाई विश्व सामु चिनाउने अवसर मिलेको बताए । यस्तै उनका अनुसार चलचित्र प्रर्दशनमा नर्वेको कल्चरल डिपार्टमेन्ट प्रमुख थारिया ग्लोपनको समेत सहभागिता रहयो र उनले आगामी दिनमा नेपाली चलचित्र क्षेत्र संग समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको र साच्चै नै यो नेपाली चलचित्र क्षेत्रको लागी गर्वको विषय रहेको उनको भनाई रहेको छ ।


हुन त नेपाली चलचित्रलाई नेपालबाट विदेशमा पुर्याउनेमा निर्देशक तथा निर्माता मिलन चाम्सको ठुलो हात रहेको छ । नेपालमा पनि मुश्किलले हुने प्रिमिएरको चलनलाई विकसित गर्दै विदेशमा भव्यता साथ रेड कार्पेट प्रिमिएर गर्ने सुरुवात उनिबाट नै भएको हो । उनि भन्दा अगाडी कुनै पनि नेपाली निदेशक तथा निर्माताले विदेशमा नेपाली चलचित्रको रेड कार्पेटको प्रिमिएरको चलन चलाउन सकेका थिएनन् । विदेशमा गएर निकै खुल्ला रुपले चलचित्रको छायांकन गर्ने निर्देशकको सुचिमा पनि उनको नाम सबैभन्दा माथि नै छ । यूरोपको धेरै देशहरुमा गएर उनले नेपाली चलचित्रको छायांकन गरिसकेका छन् भने उनले नर्वेमा यसपाली आफ्नो नया चलचित्र “बोबी” को रेड कार्पेट प्रिमिएर गर्दै नर्वेमा समेत नेपाली चलचित्र प्रदर्शनको ढोका खोलिदिएका छन् ।


नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा स्थापित गराउने नै आफ्नो उदेश्य रहेको उनले बताएका छन् । यसको लागि आफुले निकै मेहेनत गरिरहेको र अवश्य एक दिन आफु सफल हुने विश्वास समेत उनले ब्यक्त गरेका छन् । उनको प्रयासकै कारण आज विदेशमा धेरै नेपाली चलचित्र छायांकन हुने गरेको छ । यस्तै यति बेला अधिकांश नेपाली चलचित्रको विदेशमा प्रिमिएर गरेको देखिन्छ । नेपाली चलचित्रले पहिला भन्दा अहिले धेरै फड्को मारिसकेको निर्देशक चाम्सले बताए । नेपाली चलचित्रलाई अझ बढी नेपाली दर्शकहरुको माया र साथको आवश्यकता रहेको र आफ्नो शक्ति भनेको नै दर्शकहरुको साथ रहेको उनले बताएका छन् ।









Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *