Search
Sunday 18 November 2018
  • :
  • :

मालिकाको धुरी : हिमालभन्दा मान्छे अग्लो देखिने ठाउँ

मालिकाको धुरी : हिमालभन्दा मान्छे अग्लो देखिने ठाउँ

म्याग्दी / हिमालभन्दा मान्छे अग्लो देखिने ठाउँ पनि छ भन्दा सहजै कसले पो पत्याउन सक्ला र ? तर, म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने भिरालो पहाडको टुप्पोमा अवस्थित मालिकाधुरीमा पुग्नुहोस् तपाई आफैँ हिमालभन्दा अग्लो देखिनु हुनेछ ।मालिकाको धुरीबाट हेर्दा आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छे«, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमशंखला तपाईभन्दा होँचा देखिन्छन् । विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हुने प्रशस्त सम्भावना रहेको यो ठाउँले पूर्वाधार निर्माणको अभावमा आफ्नो पहिचानलाई विदेशीमाझ भने फैलाउन सकेको छैन ।

मालिकाको धुरीमा बाह्रैमास चिसो हावा चल्छ । गर्मी महिनामा पनि जाडोयामको चिसो हावा चल्ने घना जंगलको बीचमा अवस्थित मालिकाबाट धौलागिरि, नीलगिरिलगायतका दर्जनौँ हिमशिखर आँखामा ठोकिन्छन् ।हिमालभन्दा अग्ला देखिने मान्छेको जमघटले समेत मालिका जिल्लाकै आकर्षक गन्तव्य बन्न थालेको छ । आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यले सजिएको मालिका प्राकृतिक दृष्यको धनी हुनुका साथै धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्रस्थलको परिचय पाएकोे छ ।

मन्दिरको चारैतिरबाट सडक सञ्जाल छोडेर करीब साढे तीन घण्टाको यात्रामा पुगिने मालिका मन्दिरलाई धार्मिकसँगै पदयात्राका लागिसमेत सुन्दर गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । जंगलभित्र रहेका पशुचौपायाका गोठ, समथर भूभाग, चराचुरुंगी र वन्यजन्तुको आवाज, बहुमूल्य जडीबुटीको बास्ना लिँदै मालिकाधुरी पुग्दा थकित भए पनि आनन्द महसुस हुने पर्यटन व्यवसायी बाबुराम आचार्य बताउनुहुन्छ ।

जिल्लाको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित मन्दिरमा वर्षेनि हजारौँ दर्शनार्थी दर्शनका लागि पुग्ने गर्दछन् । सवारीसाधनको प्रयोग तथा भिरालो पहाड यात्रामा रमाउने निकै रोमाञ्चक मालिकाको व्यापक प्रचारप्रसार र पूर्वाधार विस्तार गर्न विश्वभरका पर्यटकलाई भित्र्याउन सहज हुने देखिन्छ । जिल्लामा अन्य पर्यटकीयस्थलबाट देखिने हिमशंखलाको तुलनामा यहाँबाट धेरै र ऐनामा हेरेजस्तै देखिन्छ ।
हिमाल र प्राकृतिक सौन्दर्यको अवलोकनका लागि अपार सम्भावना बोकेको मालिकालाई जिल्लाको आकर्षक गन्तव्यका रुपमा राख्नुपर्नेमा स्थानीयको भनाइ जायज देखिन्छ । सयौँ वर्ष अगाडिदेखि धार्मिक गन्तव्यका रुपमा रहेको मालिकाको पूर्वाधार विस्तार तथा प्रचारप्रसारले आन्तरिक पर्यटकलाई मात्र होइन विदेशी पर्यटकलाई पनि आकर्षित गर्नसक्ने पर्यटन व्यवसायी आचार्यले बताउनुभयो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *