रामाल्लाह । सन् २०१८ मा इजरायलसँगको सीमा विवादको सन्दर्भमा करिब दुई हजार प्यालेष्टिनीहरूलाई सुरक्षा नियन्त्रणमा लिएको प्यालेष्टिनी कैदीहरूको क्लब ९पीपीसी०ले मङ्गलबार जनाएको छ।
इजरायली जेलहरूमा प्यालेष्टिनी कैदीहरूका अधिकारका लागि कार्यरत अर्धसरकारी संगठन पीपीसीले प्यालेष्टिनी कैदी दिवसका सन्दर्भमा सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, “यो बर्षको शुरूदेखि अहिलेसम्म ३६९ बालबालिका र ३६ महिलासहित एक हजार ९२८ प्यालेष्टिनीलाई इजरायली सुरक्षा घेरामा राखिएको पाइएको छ।”
प्रतिवेदन अनुसार इजरायलको स्थापना भएको दिन सन् १९४८ को मे १४ देखि हालसम्म करिब १० लाख प्यालेष्टिनीलाई इजरायली प्रशासनले पक्राउ गरेको छ। प्यालेष्टिनी नागरिकले इजरायल स्वतन्त्र भएको उक्त दिनलाई नाक्वा दिवस अर्थात विनासको दिनका रूपमा लिँदै आएका छन्।
इजरायल स्वतन्त्र भएपछि हालसम्म लाखौँ प्यालेष्टिनी आफ्नो भूमि छोडेर पूर्वी जेरूसेलम, वेस्ट बैंक तथा गाजा क्षेत्रमा विस्थापित रूपमा जीवन विताउँदै आएका छन्। अहिले इजरायली जेलमा ३५० बालबालिका, ६५ महिला र छजना सांसदसहित छ हजार पाँचसय प्यालेष्टिनी नागरिकले कैदी जीवन विताइरहेका प्रतिवेदनमा उल्लेख छ।
कैदीले दिएको जानकारी अनुसार ४८ जनाले बीसबर्षदेखि, २५ जनाले २५ बर्षदेखि र १२ जनाले ३० बर्षदेखि निरन्तर जेल जीवन विताइरहेका छन्। यस्तै जेलमा रहेका ७०० कैदी दीर्घरोगबाट पीडित रहेका र नियमित औषधि लिइरहेका छन् भने तीमध्ये २६ जनालाई क्यान्सरको समस्या देखिएको छ।
प्यालेष्टिनीहरूले प्यालेष्टिनी राष्ट्रिय परिषद्को घोषणा गरिएको दिन सन् १९७४ अप्रिल १७ लाई कैदी दिवसका रूपमा मनाउँदै आएको छ भने परिषद्ले सम्पूर्ण कैदीको रिहाइका लागि आन्दोलन गर्दै आएको छ। रासस/सिन्ह्वा