Search
Sunday 22 April 2018
  • :
  • :
Latest Update

कविता-“कम्पन”

कविता-“कम्पन”

अकस्मात ,
वरिपरि खल्याड्ग र बल्याड्ग गर्दै गरेको आवाज सुन्छु।
निस्ताएको अनुहार
सबैका खुम्चिएका निधारका वक्र रेखाहरू
शरिरका अंग अंग थरथर काम्दै गरेको देख्दा ।

मेरो सर्वाड्ग काम्न लाग्छ,
मानौं मेरो देश,
म उभिएको माटोमा,
ठूलो मेग्निट्यूटको भूकम्प आई रहेको छ आज ।

सबै असहाय अवस्थामा काम्दै गरेको देखेर,
हर्के, विरे, पासड्ग, चेड्बा, फूलमाया र सुन्तली सबै
एकै स्वरमा चिच्याउँछन् ।
“भूकम्प आयो भूकम्प आयो भूकम्प आयो” !

मैले भने हो भूकम्प जस्तै छ !
तर
यो अवश्य पनि भूकम्प हैन । यसको कम्पन अर्कै छ ।
यसमा केहि दुर्गन्ध गन्हाईरहेको छ, मानौं बम बारूद फाट्न लागिरहेको छ !
हिरोसिमा र नागासाकीमा जस्तो,
धर्ती मै केहि नपलाउने केही न उम्रने गरी,
युगौं युग सम्म हाम्रा सन्तानलाई,
अपाड्ग बनाउने प्रयासको कम्पन जस्तो पो छ त !
म एक्कासी कराउँछु, मित्र !

सबै एक स्वरमा
म सँगै बचाउँ बचाउँको आवाज़
पुन: दोहोरिन्छ !
शक्ति सकिए जस्तो,
खुकुरीका टुप्पमा विश्व लरकाउने हामी
आज कसैले गला काटे जस्तो,
कम्पनले गला फाटे जस्तो !

म भन्दै थिए सबैलाई,
यो त भूकम्प भन्दा पनि भयानक कम्पन छ त !
भूकम्पले त केवल धर्ती हल्लाउँछ,
यसले त मेरो माटो अनि सारा जाति हल्लाएको छ ।

यसमा त अणु-परमाणु बम भन्दा पनि विषैलो बारूदको गन्ध गन्हाई रहेको छ त !
जापान, ईराक र सिरियामा फ्याँकिएका बमहरू खतरनाक थिए ,
दूई चार वटा ठूला ठूला शहर नै ध्वस्त पार्ने शक्तिशाली
तर
सम्पूर्ण जाति नै मासिने पक्कै थिएनन् !

हेर त,
हाम्रो धर्ती, हाम्रो माटो र हाम्रो पाईला मुनीको यो कम्पन भयानक छ ! अप्राकृतिक छ !
हामीलाई टुक्रा टुक्रा पारि,
हाम्रा भावी पिढीलाई सम्म विनाश गर्ने !
हामी उभिएको यो माटो,
हाम्रो जाति, भाषा र संस्कृति
सम्मलाई एकै चोटी सखाप पार्ने ।
अदृश्य बिषालु बारूदको गन्ध सँगैको कम्पन पो छ त !

हेर्दै छौ !
पर केहि धुवाँ आउँदैछ, ज्वालामुखी फाट्न लागे जस्तो,
यो धर्ती भयानक रूपमा काप्न लागे जस्तो !
तर
यो त अहिले केवल त्यो विनाशकारी कम्पन र विषालु बम-बारूदको,
गन्ध गन्हाउने रिहर्सल
वा
डेमोस्ट्रेसन मात्र सुरु हो जस्तो छ !

हामी माथि प्रहार गरिने बिषाक्त बम-बारूद र
भूकम्प भन्दा सयौं गुना विध्वंसकारी
कम्पन उत्पन्न गराउने षढयन्त्रको
त ! पूर्व तयारी भई सकेको छ ।
यसको पृष्टभूमि विस्तारै अर्कैले तयार गरि सकेको छ ।

होशियार,
म, तिमी, हामी उभिएको यो सुन्दर धर्ती ।
हामी सँगै खेलेको यो माटोमा,
हाम्रै विनाशका निम्ति त्यो विषालु बम-बारूदहरू फ्याँक्न तयार छन् । ज्वालामुखी पडकाउन तयार छन् ।
हामी एकै सँग दगुर्ने यी हाम्रा पाईलाहरूलाई पल पल हल्लाउन तयार छन् ।
सम्पूर्ण नेपाली जातिलाई नै जमीन देखि हल्लाएर
आपस्तमा फटाई
धूजा धूजा पार्न सम्म तम तयार छन् ।

-कमल उपाध्याय
अल्बेरी-अष्ट्रेलिया ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *