Search
Wednesday 19 December 2018
  • :
  • :

आश्रम कि आमा:- संस्मरण

आश्रम कि आमा:- संस्मरण

ज्ञानेन्द्र कुरुम्भङ(पखेरे कान्छा)

आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन।बजारमा किनमेल गर्नेहरूको घुइँचो होला।सार्वजनिक यातायातमा भिडभाड बढेको होला।अधिकांश चेलिहरु उपहार बोकेर माइतीघर तिर लम्किरहेका होलान्। सायद आमासँग भेट्ने तिब्र चाहना होला ऊनीहरु मा।

परदेशमा रहेका दाजुभाइ तथा दिदिबहिनीहरु ले पनि आफ्नि जन्म दिने आमालाई आज खुबै सम्झिरहेका होलान्।तर म भने ६ वर्ष अगाडि वृद्वाआश्रममा भेटिएकी एक वृद्वा आमालाई सम्झिरहेको छु।उनलाई पनि त! मन लाग्दो हो आफ्नी छोरिले ल्याइदिएकि गुलिया मिठाइँहरु पटुकीमा पोको पारेर खाने।उनको पनि त!रहर हुदो हो,छोराले ल्याइदिएको राम्रा राम्रा कपडा पहिरिने।

यसरी नै हरेक वर्ष आमाको मुख हेर्ने दिनमा ती बुढी आमाको यादले नराम्रोसँग हिर्काउने गर्छ।अनि मनमनै सोच्ने गर्छु ,अहिले ती आमा जिवितै छिन कि भगवान को प्यारी भई सकिन ? यस्तै कौतुहलताको चंगा उडाउदै ६ बर्षपछि ती बुढी आमालाई सम्झिदै छोटो संस्मरण लेख्न मन लाग्यो।

धरान-धनकुटा राजमार्गको मुलघाट स्थित तमोर नदिको किनारमा अवस्थित छ बिश्रान्ती मन्दिर।२०६९ साल फाल्गुन महिनाको २६ गते बिश्रान्ती मन्दिर र त्यस मन्दिरको आडैमा रहेको वृद्वाआश्रमको अवलोकन गर्ने अवसर जुर्‍यो।आश्रमको परिसर टेक्ने बित्तिकै हिमाल् जस्तैः सेतो कपाल फुलेकी ,मुजा-मुजा परेको गाला,दात नभएकाले ओठ मुख भित्र पसेको,झट्ट हेर्दा उमेरले चार बीस कटेकी, एकवृद्वा आमा मेरा आँखाको नानीमा ठोक्किइन।

रुखको फेदमा बनाइएको चौतारीमा २५/३० जना जति अरु वृद्ध वृद्वा बा-आमाहरु आ-आफ्नै तालमा बसिरहेका थिए। कोहि आमाहरु एक अर्काको जूम्रा मार्नैमा ब्यस्त देखिन्थे। तर खै! किन किन तिनै बुढी आमा तिर मेरो ध्यान खिचियो र समिपमा गई आदरपुर्वक बोलाएँ-“आमा नमस्ते”।आत्मीयताका साथ नमस्ते त! फर्काईन तर दात नभएकाले उनको बोली स्पष्ट थिएन।ती आमाको आँखाको ज्योति पनि अलिक कमजोर रहेछ। मेरो आँखा,गाला,नाक सुम्सुम्याउदै भनिन् -तँ त! मतुवाली रहेछ्स।यी वाक्यले मेरो हासोको फोहोरा छुट्न नखोजेको पनि हैन तर एक वृद्वा आमाको कुरोलाई हासोमा उडाउने मेरो नैतिकताले दिएन।

तस्बिर : सौजन्य

कलेज पढ्दा ताका एक गुरुले भनेका थिए,सबै सोधपुछ गरेर लेख्ने के लेखक! केही सोधखोज नगरी लेख्न सक्ने पो लेखक।गुरुको यो शिक्षा मेरो दिमागले एक्कासी सम्झियो।त्यसैले मैले ती आमालाई तपाईंको नाम के हो? तपाईंको घर कहाँ हो? तपाईंका आफ्ना,आफन्तहरु कोहि छैनन् ?यो वृद्वाआश्रममा कसरी आइपुग्नु भयो? यी प्रश्नहरु सोध्न चाहिन। फेरि मैले ती आमाको अतीत कोट्याएर थप पीडामा धकेल्न चाहिन।ऊनी त! त्यसै पनि पीडामा बाचिरहेकी थिइन्। वास्तविक कहानी ओकलाएर उनको आँखामा आँसु झरेको हेर्ने रहर थिएन मलाई।त्यसैले मेरो आँखालाई नै कलम बनाएर उनको पीडा,व्यथालाई मेरो मनको पानामा लेख्ने कोशिश गरेँ।उनको अनुहार भरि छताछुल्ल पोखिएको पिडालाई पढ्ने प्रयास गरेँ।

आफ्नै कथा र व्यथालाई आफ्नो बिशाल छातिमा लुकाएर बाचेकी ती आमाको पिडा,शान्तसँग बगिरहेको तमोर नदि जस्तैः थियो।जसरी तमोरले सप्तकोसी मा मिसिनलाई अनेकौं छागाँ छहरा ,ढुङ्गा बालुवा सँग पौठेजोरी खेल्दै बगेको छ त्यसरी नै अनेकौं कष्ट झेलेर आएकी ती आमाको दु:ख बिसाउने चौतारी बनेको रहेछ त्यो आश्रम।मन्दिरमा बज्ने घण्टा र भजनका धुनहरु दु:ख भुलाउने साधन बनेका रहेछन्।अनि तमोर नदिको सुस्केरा सँग भुल्दै उनका दिनचर्या बित्ने रहेछन्।

मायामा नाता टुट्छ तर अचेल नाता भित्र माया ममता टुट्न थाल्यो।मान्छेहरु यति स्वार्थमा डुब्न थाले कि नाता सम्बन्ध भित्र आफ्नो जिम्मेवारी र कर्तव्य भुल्न थाले।सायद ती बुढी आमा पनि यस्तै स्वार्थी र निर्दयी सन्तानहरु को शिकार बनेकी हुनुपर्छ। जसको फलस्वरूप वृद्वाआश्रम लाई नै आफ्नो संसार बनाउन बाध्य भईन।।अब ती आमाले वृद्वाआश्रम मै प्राण त्याग्ने छिन्।अनि आफ्ना र आफन्त बिनै छेउमा बगिरहेको तमोर नदिमा खरानि हुनेछिन। भगवानको लिला पनि कस्तो अचम्मको छ। कोहि! आफ्नो कोहि नभएर संसारबाट एक्लै बिदा हुनुपर्छ ।कोहि! आफ्नो भएर पनि यो संसारबाट एक्लै बिदा हुनुपर्छ।

मैले ती बुढी आमा सँग लगभग आधा घण्टा जति बिताएँ होला।त्यो आधा घण्टा समय भर मैले उनको मुहार हेरेरै बिताएँ।उनको आँखाले प्रष्ट रूपमा भनिरहेका थिए,मेरा सन्तानहरु पनि यसरी नै अगाडि आएर मलाई हेरि रहुन। उनको मुहार हेर्दैगर्दा मेरो मनले मेरो मनलाई सोध्यो -कतै! बुढेसकालमा तेरो अवस्था पनि यस्तै हुने हो कि?

 

 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *