Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

हो म “सेकेण्ड ह्याण्ड जवानी”

हो म “सेकेण्ड ह्याण्ड जवानी”

मेरो एक साथी प्रसङ्गवस भन्छिन्, – साथी आफ्नो त सेकेण्ड ह्याण्ड जवानी ।

म सोध्छु कसरी ?

उनी प्रष्ट्याउँछिन्, – पहिले लोग्नेसँग डिभोर्स भयो । दोस्रोसँग विहे गरेपछि सेकेण्ड ह्याण्ड भएन त !

उनीसँग म सहमत हुन्न ।

भन्छु, ‘तपाईं आफ्नै जवानीलाई किन सेकेण्ड ह्याण्ड बनाउनुहुन्छ ?

म अझ प्रश्न गर्छु – तपाईं अहिलेको श्रीमानसँगको सम्बन्धमा खुसी हुनुहुन्न ?

साथी – एकदमै खुसी छु ।

‘तपाईं पहिला जति शारीरिक सम्बन्धमा इन्ज्वय गर्नुहुन्न ?’

‘किन नगर्नु’

उनी मलाई थप कन्भिन्स गर्छिन्, ‘मेरो लोग्नेका कति यौन साथी थिए म जान्न चाहन्न । उ कुमार हुने त कुरै थिएन । धेरै जना केटीसँग शारीरिक सम्पर्क भएको कुरा उ आफैले भन्छ । मेरो चाहिँ एक जना केटासँग शारीरिक सम्पर्क भयो । त्यो पनि कानुनी रुपमै (विहे पश्चात) । तर यो समाजका लागि म सेकेण्ड हैण्ड अर्थात् अहिलेको लोग्नेले श्रीमती मानेकी म कुमारी थिइन । मैले चाहिँ कुमार लोग्ने पाएँ । त्यसकारण म भाग्यमानी । त्यसैले संकिर्ण मानसिकतलाई ड्यासिङ् दिन खुलेर भन्छु, आफू त सेकेण्ड ह्याण्ड ।’

म अर्को प्रसंगमा मोडिन्छु ।

पछिल्लो समय भयावह रुपमा बलात्कारका घटना बाहिरिएका छन् । बलात्कार पछि छोरीहरु विस्थापित भएका छन् ।

पीडा पछि उनीहरुको बसाई सहरका कुनै अधिकारकर्मीको संरक्षकत्वमा रहेको आश्रय स्थल हुने गरेको छ । जतिबेला उसलाई आमाको काख, बाबुको संरक्षकत्व, परिवारको माया आवश्यक पर्छ, बलात्कृत भएपछि त्यो सबै गुम्छ ।

त्यसको एउटा मात्रै कारण हो उनीहरुको ‘सतित्व’ लुटियो । अर्थात् बलात्कार पछि उ कुमारी रहिन । त्यसपछि मेरी साथीले भनेझैं उनको सतित्व, अस्तित्व, चरित्र समाजका अगाडि के–के देखाउन मिल्छ, हो त्यसैमा प्रश्नचिन्ह उठ्छ ।

उ अबला ठहरिन्छे ।

बिना चाहना जबरजस्ती पुरुषले यौनचाहना मेटाइएकी उनले जीवनभर आफूले रोजेजस्तो केटासँग विवाह गर्न सक्दिन । न त उसले खुलेर प्रेम गर्न नै सक्छे । कारण उसँग कसैले जबरजस्ती सेक्स गरेको छ ।

मेरी साथीले भनेझैं उसलाई कुनै केटाले ‘दया’ गरेर विवाह गरिदियो भने उ ‘भाग्यमानी’ ठहरिन्छे । अझ ‘कुमार’ केटा रहेछ भने त यहि समाजकाले भन्छन्, – केटो त भगवानै रहेछ नि ! त्यस्ती केटीसँग बिहे गर्यो ।

उ जीवनभर ‘महान’ कोटीमा गनिन्छ ।

डेढ वर्ष अघि सञ्चारिका समूहको टेलिभिजन कार्यक्रम समकोणमा श्रीमान् द्वन्द्वमा मृत्यु भएपछि एक सन्तान हुर्काएर बसेकी शान्ति महर्जनले भनेकी थिईन् – ३० वर्षमा श्रीमान् मर्दा मेरो दोस्रो विवाहबारे नसोच्ने यो समाज सासूको मृत्यु भएको १३ दिन नहुँदै ६० कटेका ससुराको लागि अर्को विवाहको लागि प्रस्ताव ल्याउँछ ।

अनौपचारिक कुराकानीमा उनले भनेकी थिईन्, ‘विवाहको प्रस्ताव आउँदा पनि बुढा भइसकेकाहरुबाट आउँछ ।’ कारण एउटा सन्तानकी आमा शान्ति अब कुमारी रहिन । अब उनको जोवन दोस्रो कोटीमा पक्कै गनिन्छ ।

२०६८ सालको जनगणना अनुसार नेपालमा एकल महिलाको संख्या ४ लाख ९८ हजार ६ सय ६ जना छ । तिमध्ये ६७ हजार ३५ वर्ष मूनीका छन् । हो यिनै ३५ हजार महिलाले आफ्नो इच्छा अनुसारको विवाह गर्ने वा पुरुषसँग सम्बन्ध स्थापित गर्ने हक राख्दैनन् ।

बरु उनीहरुले विवाह गरेमा ‘हेर लोग्ने मरेकोले कति चाँडै विवाह गरेकी’ भनेर चरित्रसँग प्रश्न गरिन्छ ।

जुनीजुनी सँगै बाच्ने कसम खाएर विवाह गर्ने लोग्ने मान्छेले त्यही श्रीमतीमाथि सौता ल्याउँछ । परस्त्रीसँग शारीरिक र भावनात्मक सम्बन्ध गाँस्छ ।

त्यही सम्बन्धकै प्रभावमा घरकी श्रीमतीलाई यातना दिएर घरबाट निकाल्ने पुरुषका विषयमा भने यो समाज किन मौन ?

जन्म दिने बुबाआमा, थर, ठेगाना, गोत्र सबै त्यागेर ‘मेरो संसारै तिमी’ भन्दै लोग्नेको हात समातेकी स्त्री त्यही लोग्नेको लात सहन्छे । बात सहन्छे । निर्मम यातना सकेसम्म सहन्छे ।

सहनै नसक्ने अवस्था आएपछि मात्रै उ आफ्नो अस्तित्वको खोजी गर्छे । जाने ठाउँ कहिँ हुँदैन ।

माइती जानलाई माइतीले ‘पाले पूण्य, मारे पाप’ भन्दै दान गरेर (कन्यादान) दिइसकेको हुन्छ । हिन्दुधर्म अनुसार दान गरेको वस्तु मरेतुल्य हुन्छ । किनकी दान गर्ने व्यक्तिको त्यसमा कुनै हक हुँदैन ।

प्रेम विवाह गरेकी रहिछ भने ‘तिमी आफैले रोजेको लोग्ने आफै सम्हाल्न सकेनौं । जे गर्छौ तिमै्र मर्जी, हामी जिम्मेवार छैनौं । हाम्ले बोल्नलाई केटा हाम्ले राजेका थियौं र ?’ भनिन्छ । हो जन्म दिने बाआमा पनि पहिलो लोग्नेसँगको सम्बन्ध बिग्रिँदा यी र यस्तै खालका प्रश्नको प्रहार गर्छन् ।

साथ र हात दिने भन्दा नानाथरी सवाल र आरोप लगाउँदै जिम्मेवारीबाट पन्छिदिन्छन्, बाआमा, आफन्त अनि नातागोता ।

समाजका लाञ्छनाका बीच आफैले रोजेको बाटोमा हिँड्दा झनै प्रश्नको चाङ । भर्खरकी भए विवाहित हौ की अविवाहित ?

विवाहित जस्तो लवाईखवाई देखिए श्रीमान कहाँ छन् ? के गर्छन् ? घर कता हो ? किनसँगै हुनुहुन्न ?

लोग्नेसँगको सम्बन्ध राम्रो नभएर एक्लै बसेको थाहा पाउँदा गतिली भए किन लोग्नेले छोड्थ्यो र ! जस्ता प्रश्नले उल्टै महिलालाई नै ‘अगतिली’ भएको यकिन गरिदिन्छन् ।

विभिन्न आरोप र प्रत्यारोपको बाढी नै वर्षाईदिन्छन् । यातना दिने भन्दा सहनेले, अपराध गर्ने भन्दा भोग्नेले समाजको प्रहार खेप्नुपर्ने । स्पष्टिकरण दिइरहनुपर्ने । यसको पनि कारण त्यहि हो उसँग भएको – ‘गर्भाशय’ ।

उसलाई समाज बिगारेको भन्दै समाजले बहिष्कार गर्दैन । उल्टो संरक्षकत्व पाइरहन्छ लोग्ने मान्छे । अपराध नगरेकी महिला घरबाट निकाला हुन्छे । पुनर्स्थापना गृहको सहारामा पुग्छे । या भनौं सिङ्गो समाजमा टुहुरो झैं निरस जीवन बिताउन बाध्य हुन्छे ।
‘मर्दकी सातोटी’ भन्ने भनाइ आत्मसाथ गरेकोे समाजमा लोग्नेलाई त कसले भन्छ र ‘तिमीले अपराध गर्यौ ।’

उसलाई श्रीमतीलाई दुःख दियौ । घर बिगार्यौ । समाज बिगार्यौ । तिम्रो चालचलनले समाजको नीति नियम ध्वस्त भयो । भनेर समाजले कहिल्यै गाउँबाट निकाला गर्दैन ।

बलात्कार गर्ने पुरुषलाई सामाजिक रुपमा बहिस्कार गरेको कतै सुन्नुभएको छ ? अहँ कतै छैन ।

उसलाई समाज बिगारेको भन्दै समाजले बहिष्कार गर्दैन । उल्टो संरक्षकत्व पाइरहन्छ लोग्ने मान्छे । अपराध नगरेकी महिला घरबाट निकाला हुन्छे । पुनर्स्थापना गृहको सहारामा पुग्छे । या भनौं सिङ्गो समाजमा टुहुरो झैं निरस जीवन बिताउन बाध्य हुन्छे ।

हो, यहि समाज ति निरअपराध महिलाले सहारा खोज्दा पचाउँदैन । यदि उ आफैले सहारा खोजी भने पनि बिग्रेकी आइमाइको संज्ञा दिन्छ । उसको चरित्रमा टिप्पणी गर्दै कानेखुसी गर्छन् ।

किनकी उ कुमारी होइन । ‘फस्ट ह्याण्ड’ होइन । उसको सतित्व पहिले नै कसैले लुटिसकेको छ ।

महिलासँग योनी र गर्भाशय भएकै कारण एकजनासँगको सम्बन्ध पछि आफूलाई सेकेण्ड ह्याण्डमा दर्ज गर्नुपर्ने बाध्यता कहिलेसम्म ?

त्यसैले त मेरो साथी साह्रो गाह्रोमा लात हान्ने यही समाजलाई व्यंग्य हान्दै पटक पटक निर्धक्कसँग भन्छिन् ‘हो म सेकेण्ड ह्याण्ड ।’ महिला खबरबाट


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *