Search
Tuesday 18 December 2018
  • :
  • :

अब भारतमा सेल्फी लिन नपाइने ! यस्तो छ सेल्फीविरुद्धको अभियान

अब भारतमा सेल्फी लिन नपाइने ! यस्तो छ सेल्फीविरुद्धको अभियान

नयाँदिल्ली । दक्षिण भारतीय राज्य कर्नाटकका अधिकारीले सेल्फीविरुद्ध विशेष अभियान चलाएका छन् । विभिन्न राज्यमा सेल्फी लिनेक्रममा पछिल्ला महिनामा युवायुवतीको मृत्यु भइरहेका बेला कर्नाटक राज्यले सो अभियान चलाएको हो ।

कर्नाटकको राजधानी बेंग्लोरमा एक महिनामा मात्र सेल्फी लिनेक्रममा चारजना विद्यार्थीको मृत्यु भएको छ । केही साताअघि बिदा मनाउने क्रममा मन्दिर परिसरमा पुगेका एक विद्यार्थीको सेल्फी लिने क्रममा नजिकैको तलाउमा डुबेर मृत्यु भएको थियो ।

बेंग्लोरबाट १९ माइल टाढा एक मन्दिरमा रहेको तलाउमा सेल्फी लिँदा विद्यार्थीहरूले आफ्नै साथी गुमाएको पत्तो पाएनन् । विद्यार्थीहरूले बिहानभर मन्दिर परिसरमा सरसफाइ गरेका थिए । तापक्रम बढेपछि मन्दिर परिसरमा नै रहेको पोखरीमा पौडी खेल्नेक्रममा फोटो खिच्दा एकजना साथीको डुबेर मृत्यु भएको थियो ।

सो घटनाको एक सातापछि अर्को बीभत्स दुर्घटना भयो । दुर्घटनाको मुख्य कारण सेल्फी थियो । सेल्फी लिने क्रममा तीनजना किशोरलाई रेलले किचिदियो । रेललाई पृष्ठभूमिमा देखाउने क्रममा विपरीत दिशाबाट आएको रेलले किच्दा बेंग्लोरमा तीनजनाको घटनास्थमै मृत्यु भएको थियो ।

यी दुई घटनाले कर्नाटक त्रसित छ । सेल्फी लिँदा किशोरकिशोरी तथा युवायुवतीले बढी सावधानी अपनाउन राज्य सरकारले आग्रह नै गरेको छ । सेल्फी बिस्तारै किल्फीमा रूपान्तरण हुन लागेको सरोकारवालाहरूले बताउन थालेका छन् ।

पर्यटकीय क्षेत्र र अन्य स्थानमा जोखिमपूर्ण पोजमा सेल्फी नलिन सरकारले युवायुवती र किशोरकिशोरीलाई आग्रह गरेको छ । यसका लागि सरकारले होर्डिङ बोर्ड, भित्ते लेखन र प्रचारलाई तीव्रता दिएको छ ।

‘११ जिल्लाका पर्यटकीय क्षेत्रमा सेल्फीबारे सावधानी अपनाउन सूचना नै जारी गरेका छौँ,’ कर्नाटकका पर्यटनमन्त्री प्रियन्क एम खार्गेले भने । ‘सेल्फीविरुद्ध फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अभियान चलाएका छाैँ,’ उनले थपे ।

भारतमा १ अर्बभन्दा बढी मानिसले मोबाइल फोन प्रयोग गर्छन् । तीमध्ये ३० करोडले स्मार्टफोन चलाउँछन् । किशोरकिशोरी र युवायुवतीले विभिन्न खतरा मोलेर विभिन्न पोजमा सेल्फी लिँदा दुर्घटना बढेको विज्ञहरूले बताउँदै आएका छन् ।

दिल्लीस्थित कार्नेजी मेलन युनिभर्सिटी र इन्द्रप्रस्था इन्स्टिच्युट अफ इन्फर्मेसनका अनुसार पछिल्ला वर्षमा भारतमा विश्वमा नै सबैभन्दा बढी सेल्फीसँग सम्बन्धित घटनामा मानिसको मृत्यु हुने गरेको छ ।

सन् २०१४ देखि २०१६ सम्म सेल्फीसँग सम्बन्धित घटनामा १ सय २७ को मृत्यु भएको थियो । तीमध्ये ७६ जना भारतीय थिए । मृत्यु हुनेमध्ये सबै युवायुवती र किशोरकिशोरी थिए ।

गत जुलाईमा उत्तर प्रदेश सरकारले खतरनाक पोजमा सेल्फी लिने किशोरकिशोरीलाई जेल हाल्ने चेतावनी दिएको थियो । – एजेन्सी


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *