Search
Tuesday 18 December 2018
  • :
  • :

बुढेसकालमा यसकारण डिमेन्सिया अर्थात् बिर्सने रोग लाग्छ ? लक्षण र बच्ने उपाय..

बुढेसकालमा यसकारण डिमेन्सिया अर्थात् बिर्सने रोग लाग्छ ? लक्षण र बच्ने उपाय..

कुनै मानिसको उमेर ६० वर्षभन्दा बढी भइसकेको छ र बिर्सने बानी पनि बढ्दै गएको छ भने उसलाई ‘डिमेन्सिया’ नामक मानसिक रोग लागेको हुनसक्छ ।

यो रोग लागेपछि सम्झने, आफन्तजनलाई चिन्ने, उनीहरुको नाम सम्झने, सरसफाई, नुहाइधुवाई तथा दिसा–पिसाव गर्ने जस्ता पहिले गर्दै आएका महत्वपूर्ण काम गर्ने शक्ति क्षीण हुँदै जान्छ। यो रोग प्रायः ६० वर्ष उमेरपछि मात्र लाग्छ र जति उमेर वढ्दै गयो डिमेन्सिया हुने सम्भावना बढ्दै जान्छ।

प्रायः ६५ देखि ७० वर्ष उमेरका मानिसमा डिमेन्सिया हुने सम्भावना करिब १ प्रतिशत हुन्छ भने ९०–९५ वर्षकालाई यो रोग हुने सम्भावना करिब १० प्रतिशत हुन्छ।

यद्यपि, डिमेन्सिया बुढेसकाल लागेकाले हुने रोग होइन, मस्तिष्कमा रोग लागेपछि हुने समस्या हो। मस्तिष्कमा रोग नलागेका ९० वा १ सय वर्षका वृद्धवृद्धामा पनि डिमेन्सियाका लक्षणहरु देखिँदैनन्। यो कुनै नयाँ रोग पनि होइन। आयुर्वेदमा ‘स्मृति भ्रंस’ भन्ने रोग ३ हजार वर्षभन्दा पहिलेदेखि नै छ, जसलाई मेडिकल साइन्सले डिमेन्सिया भन्ने गरेको हो।

 

मस्तिष्कले नयाँ कुरा सिक्ने र सम्झने, कुनै कुरालाई ध्यान दिएर सुन्ने र बुझ्ने, विचार गर्ने र समस्या परेमा समाधानको खोजी गर्ने, ठिक–वेठिक कुराको निर्णय लिने आदि काम गर्छ। त्यसैगरी, हिसाव गर्न सक्ने, आफू कुन ठाउँमा छु, कस्तो अवस्थामा छु, आफ्नो घर÷डेरामा कुन–कुन बाटोबाट र कसरी जान सकिन्छ भन्ने सम्झना राख्ने र आफूले भन्न खोजेको कुरा सही शब्द चयन गरी भन्न सक्ने क्षमता पनि मस्तिष्कमा हुन्छ। तर, डिमेन्सिया रोग सुरु भएपछि यस रोगका लक्षणहरु विस्तारै देखिन थाल्छन् र अलिअलि गरेर बढ्दै जान्छ। रोग बढिसकेपछि यस्ता कार्यहरु मस्तिष्कले गर्न सक्दैन र विभिन्न लक्षण देखिन थाल्छ।

डिमेन्सियाका लक्षणहरु

डिमेन्सिया रोग लागेपछि मानिसमा विभिन्न किसिमका लक्षण देखिन्छन्ः गर्दै आएको काम बिगार्दै जाने र पछि गर्नै नसक्ने अवस्थामा पुग्ने। परिवारका सदस्यको नाम सम्झन पहिले कुनै कठिनाई नहुने गरेकोमा रोग लागेपछि बिर्सिरहने र सम्झाए पनि एकैछिनमा बिर्सिने। पैसा, गरगहना, साँचो वा कागजपत्रहरु राखेको ठाउँ प्रायः जसो बिर्सिने र घन्टौं खोजी गर्नुपर्ने। (तर कहिलेकाहीँ बिर्सने जोकोहीलाई पनि हुन सक्छ, यसलाई रोग मानिँदैन।)

समय तथा स्थानको ज्ञान हराउने। महिना, बार, गतेजस्ता कुराको सम्झना हराउने। आफू बस्दै आएको गाउँ, टोल, छिमेकको पनि सम्झना हराउँदै जाने। रोग बढ्दै गएपछि भर्खरै खाना खाएको पनि बिर्सने र मलाई खानै दिएनन् भनेर कराउने र बारम्बार खाना माग्ने। आफ्नै छोराछोरी, बुहारी नातिनातिनालाई नचिन्ने, हजुर, तपाईं भनेर सम्बोधन गर्ने। आफ्नै परिवारका सदस्यलाई पनि नचिनेको मान्छे आयो, चोर हो कि? सामान चोरी गर्छ कि भनेर डराउने र आफ्नो सामान लुकाउने। आदि।

डिमेन्सियाका बिरामीमा देखिने सबै लक्षण एकैचोटि देखिँदैन। सुरुको अवस्थामा अलिअलि बिर्सन सुरु हुन्छ र रोग बढ्दै गएपछि थप लक्षणहरु बढ्दै जान्छ। डिमेन्सिया धनी, गरिब, महिला, पुरुष जुनसुकै जातजाति र भाषाभाषीका मानिसलाई हुन सक्छ। डिमेन्सिया रोग हो भन्ने बुझ्न नसक्दा हाम्रो समाजमा यसलाई बुढेसकालको लक्षण मान्ने गलत सोचाई व्याप्त छ।

मानिसलाई किन यस्तो रोग लाग्छ भन्ने बारे विभिन्न अध्ययन, अनुसन्धान भएका छन्। डिमेन्सिया हुने कारणहरु धेरै छन्, तीमध्ये करिब ७० प्रतिशत बिरामीलाई ‘अल्जाइमर्स’ रोगका कारण हुने गरेको छ। अल्जाइमर्स एक प्रकारको डिमेन्सिया हो। डिमेन्सिया हुन सक्ने अन्य कारणमा अत्यधिक मदिरा सेवन, एचआइभी÷एड्स, पोषण तत्वको कमी र मस्तिष्कमा रक्तसञ्चार राम्रो हुन नसक्नु आदि मुख्य हुन्। डिमेन्सिया रोग लागिसकेपछि उपचार गरेर पूरै निको हुने सम्भावना कम हुन्छ।

डिमेन्सियाको निदान

धेरैजसो डिमेन्सियाका बिरामीमा सुरुमा बिर्सने, आफूले गर्दै आएको काम गर्न कठिनाई हुने र रिसाउने लक्षणहरु देखिन्छन्। यस्ता लक्षणलाई परिवारजनले बुढेसकाल लागेर होला भनेर सामान्य रुपमा लिन्छन्। रोग निकै बढिसकेपछि मात्र चिकित्सकसँग सल्लाह लिने चलन छ।

सुरुसुरुमै रोगको निदान हुन सके केही औषधिको प्रयोग गरेर रोकथामसम्म गर्न सकिन्छ। रोग बढिसकेपछि औषधिले रोकथाम गर्न सकिँदैन। त्यसैले रोगको निदान छिटो हुन सके राम्रो हो। परिवारले पनि डिमेन्सिया रोग लागेको जानकारी पाएपछि के–कसरी स्याहार–सुसार गर्न सकिन्छ भन्नेबारे ध्यान दिने वा तयारी गर्नुपर्छ।

रोगको निदान भनेकै बिरामीको सम्झना शक्ति ठिक छ कि छैन भनेर चिकित्सकले गर्ने परीक्षण हो। यसको निदान गर्दा अन्य कुनै रोगका कारण हो कि? भनेर खोजिनिती गर्नुका साथै रगत आदिको परीक्षण गर्ने गरिन्छ।

उपचार गरेर निको हुने अन्य कुनै रोगका कारण सम्झना शक्तिमा समस्या परेको रहेछ भने उपचारपछि निको हुन्छ। अन्य कारणले होइन, डिमेन्सिया भएर नै स्मरणशक्ति हराउँदै गएको हो भने यकिन भएपछि बिरामीको स्याहार–सुसारमा ध्यान दिनुपर्ने कुराबारे जानकारी लिन तथा व्यवहार गर्न परिवारलाई सजिलो हुन्छ।

डिमेन्सियाको उपचार

पोषणको कमीका कारण वा थाइरोइड ग्रन्थी सम्बन्धी रोगका कारण डिमेन्सिया भएको रहेछ भने उपचार सम्भव छ। तर, अन्य कारणले भएको डिमेन्सियाको उपचार छैन भने पनि हुन्छ। औषधि उपचार नहुने भएका कारण यस्ता बिरामीको हेरचाहमा परिवारले निकै कठिनाइ झेल्नुपर्ने हुन सक्छ। यद्यपि, यस्ता बिरामीका लागि केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ।

व्यक्तिगत सरसफाई र खानपिन आदि साना बच्चाबच्चीलाई जस्तै गर्नुपर्ने हुन्छ। दिउँसो सुत्न दिँदा राति ननिदाउने समस्या हुने भएकाले राति सुत्ने बानी बसाल्नु राम्रो हुन्छ। खास गरेर सहरमा घरको ढोका, घर कम्पाउन्ड भए ढोका÷गेट राम्रोसँग बन्द गर्नुपर्छ अन्यथा घर बाहिर गएमा बिरामी आफैं घर पर्किन सक्दैनन् र परिवारका सदस्यलाई बिरामी खोज्न सास्ती हुन सक्छ।

बिरामीको खल्तीमा घरको नाम, ठेगाना, फोन नम्बर भएको कार्ड राखिदिएमा हराएमा पनि खोज्न सजिलो हुन्छ। नाम÷फोन नम्बर भएको ब्रासलेट (चाँदी वा अन्य धातुको) लगाइदिँदा पनि हुन्छ।

अन्य समस्याजस्तै आँखामा मोतीबिन्दु, सुन्ने समस्या, मधुमेह, उच्च रक्तचाप आदि भए त्यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ। लडेर चोटपटक लाग्ने र विभिन्न संक्रमण भएर समस्या हुन सक्ने भएकाले त्यसतर्फ पनि सतर्क हुनु जरुरी छ। निद्रा नलाग्ने, रिसाउने, तोडफोड गर्ने आदि समस्या भएमा केही औषिधको प्रयोग गर्न सकिन्छ।

अनुपयुक्त व्यवहार (जस्तैः कपडा खोल्ने, नांगै हुने, यौनांग खेलाउने, रिसाउने, कुटपिट गर्ने वा तोडफोड गर्ने आदि) गर्ने समस्या भए मनोरोग विशेषज्ञसँग सल्लाह लिएर औषधिको प्रयोग गर्न सकिन्छ। बिरामीहरु बिस्तारै आफ्नो हेरचाह गर्न नसक्ने अवस्थामा पुग्छन्। उनीहरुका परिवर्तनलाई रोग मानेर गर्न सक्ने रेखदेख गर्नु/गराउनु आवश्यक हुन्छ। यसलाई बोझका रुपमा लिइएन भने मानसिक तनाव पनि त्यति हुँदैन।

डिमेन्सियाबाट बच्ने उपाय

यो रोगबाट बच्न र बचाउन सकिन्छ कि भन्ने सम्बन्धमा धेरै अध्ययनहरु भएका छन्। तर, यसबाट बच्ने उपाय भेटिएको छैन। विभिन्न अध्ययनबाट यो रोगबाट पूरै बच्ने सम्भावना नभेटिए पनि केही तथ्यहरु भने पत्ता लागेका छन् जुन अवलम्बन गर्दा यो रोग नलाग्न सक्छ।

पहिलो कुरा, स्मरण शक्तिमा कमी आउने अरु धेरै कारण छन् भनेर बुझ्नुपर्छ। जस्तै, केही भिटामिनको कमी (जस्तैः भिटामिन बि१२), केही हर्मोनहरुको कमी र केही औषधिहरुको प्रयोग (जस्तैः ट्राङ्कुलाइजर्स) आदि कारणले स्मरण शक्ति हराउन सक्छ। त्यस्तै, डिप्रेसन रोग लाग्दा, धेरै मानसिक तनाव हुँदा, निद्राको समस्याले गर्दा, लागू औषधको प्रयोग वा धेरै मदिरापानका कारण पनि स्मरण शक्ति कम भएको हुन सक्छ। यी कारणले गर्दा स्मरण शक्ति कम भएको हो भने, कमी भएको तत्व पूरा गर्दा र नोक्सान गर्ने पदार्थहरु छोड्दा फाइदा हुन्छ।

यस्तै, धूमपान नगर्ने, मधुमेह (डाइबिटिज) छ भने नियन्त्रण गर्ने, उच्च रक्तचाप छ भने नियन्त्रण गर्ने, शरीरको वजन बढी छ भने घटाउने, नियमित शारीरिक व्यायाम गर्ने र रगतमा कोलेस्टेरोलको मात्रा बढी छ भने नियन्त्रणमा ल्याउने। यी प्रयासले हृदयघात हुनबाट बचाउँछ। साथै, डिमेन्सियाको रोकथाममा पनि महत्वपूर्ण योगदान पुग्छ। सन्तुलित भोजन गर्नु र पोषण तत्वको कमी हुन नदिन पनि आवश्यक छ।

टाउकोमा जोडले चोटपटक लागेको छ भने पनि पछि गएर डिमेन्सिया हुने सम्भावना हुन्छ। टाउकोमा चोटपटक नलागोस् भन्नेतर्फ ध्यान दिनुपर्छ। त्यस्तै, अर्को महत्वपूर्ण कुरा हो, मानसिक तनावलाई सकेसम्म कम गर्ने प्रयास गर्नुपर्छ। तनाव हुँदा ‘कर्टिसोल’ भन्ने हार्मोन शरीरमा बढी निस्कन्छ, जुन शरीर र मस्तिष्कका लागि हानिकारक छ।

तनावको राम्रो व्यवस्थापन गर्नु भनेको आफ्ना समस्या मिल्ने साथी वा परिवारका सदस्यसँग भन्नु, समस्या समाधान गर्न प्रयास गर्नु, शारिरीक व्ययाम, ध्यान, आराम, निद्रा, पौष्टिक आहार, संगीत श्रवण आदि गतिविधि हुन्। यसबारे थप जानकारी विशेषज्ञबाट लिन सकिन्छ। भनिन्छ, मस्तिष्कलाई कि त प्रयोग गर वा गुमाउ। केही काम छैन भनेर चुप लागेर निराश भई बस्नुको बदला नयाँ–नयाँ विषयबारे पढ्ने, सिक्ने आदि गर्दा फाइदा हुन सक्छ।

अल्जाइमर्स रोग भएको मानिसमा ओमेगा–३ घटेको पाइन्छ। यो तत्व भटमासको तेल र माछाको तेलमा प्रशस्त पाइन्छ। शरीरमा यी तत्वको कमी हुन नदिँदा पनि केही हदसम्म रोगबाट बच्न सकिन्छ। स्वस्थ जीवनशैली अवलम्बन गर्दा डिमेन्सिया लगायत धेरै रोगबाट बच्न सकिन्छ, त्यसैले यसबारे युवावस्थादेखि नै ध्यान दिनु राम्रो हुनेछ।
स्रोत : स्वास्थ्यखबर पत्रिका


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *