Search
Tuesday 18 December 2018
  • :
  • :

पाइलट विजय लामाको अनुभवः विमान चालकलाई ‘सेकेन्ड चान्स’ हुँदैन

पाइलट विजय लामाको अनुभवः विमान चालकलाई ‘सेकेन्ड चान्स’ हुँदैन

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरको विमान दुर्घटना हुँदा २२ नेपालीसहित ४९ जनाको ज्यान गयो । यति धेरै मानवीय क्षति हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै भएको यो पहिलो दुर्घटना हो । यो दुर्घटनाको सन्दर्भमा हामीले विमान चालक सिनियर क्याप्टेन विजय लामासँग अनलाइन खबरले गरेको कुराकानीलाई आर्काइभबाट प्रस्तुत गरेका छौं ।

विमान चालक बन्ने विजय लामाको बच्चैदेखिको हुटहुटी हो । उनकै शब्दमा भन्दा विमान चालक नै बन्छु भनेर उनी पढ्थे, खेल्थे, हिँड्थे, सुत्थे, निदाउँथे र ब्युँझन्थे ।

‘त्यतिबेला एउटा प्लेन आकाशमा उड्दा सिंगो काठमाडौंलाई थाहा हुन्थ्यो । म आकाशतिर हेथेर्ँ र कल्पिन्थेँ,’ विजय भन्छन् ।

उनलाई बाल्यकालमा विमानचालक बन्ने हुटहुटी पैदा गर्ने थुप्रै कारणमध्ये एक कारण हुन्-रामकुमार अकेला ।

रामकुमार अकेला (खास थर प्रधान) नामका व्यक्ति उनको घरमा धाइरहन्थे । एयरपोर्ट भन्सारमा काम गर्ने उनी सधै गोजीभरि चकलेट बोकेर आउने गर्थे । ‘यो प्लेनमा बाँड्ने चकलेट हो, प्लेनमा जति पनि चकलेट पाइन्छ,’ भन्दै विजयलाई खुवाउँथे ।

अकेलाको नजर चाहिँ हुँदोरहेछ विजयकी दिदी (ठूलोबुवाकी छोरी जुग्नु) तिर, जो विजयको घरमा बसेर पढ्थिन् । अकेलाले उनकी जुग्नु दिदीलाई पट्याएरै छाडे र पछि बिहे पनि गरे ।

विजयलाई भने ‘प्लेनमा त जति पनि चकलेट पाइन्छ’ भन्ने उनको शब्द महत्वपूर्ण लाग्यो । विमान चालक बन्नलाई सायद यो पहिलो उत्प्रेरक तत्व थियो भन्ने लाग्छ उनलाई ।

तर, बाल्यकालमै उनको आँखामा समस्या आयो । डाक्टरले उनलाई माइनस वाला चश्मा भिराइदिए । विजयले कतै सुनेका थिए, माइनस चश्मा लगाउनेले विमान चालकको लाइसेन्स पाउन सक्दैन ।

यसरी एउटा माइनस चश्माले उनको सपनाको भ्रुण हत्या गरिदियो । उनी अरु नै क्षेत्रमा बरालिन थाले ।

विजय गिरीले देखाए बाटो
अलि ठूलो भएपछि विजयले फेरि सुने, चश्मा लगाउनेले पनि पावर हेरेर विमान चलाउन पाउँछ । उनको सपना फेरि जागाज्योति भएर ब्युँझियो । उनले आमासँग आफ्नो चाहना प्रकट गरे । आमाले तत्कालै उनलाई च्याप्प समातेर विजय गिरीकहाँ लगिन् ।

विजय गिरी त्यतिबेलाका चर्चित पाइलट थिए । बिहान जाँदा उनी भेटिएनन् । बेलुका फेरि गए आमाछोरा । विजय भेटिए ।
‘विजय, विजय दाइलाई नमस्ते गर’ आमाले विजयलाई अह्राइन् । विजयले आज्ञापालन गरे ।

‘त, तिमी पाइलट बन्ने ?’ विजयले सोधे ।

‘हो, सर । तपाईंजस्तै बन्ने हो,’ विजयले फूर्तिसाथ जवाफ दिए ।

‘के पढ्दैछौ ?’ विजयले सोधे ।

‘इन्डियामा आइएस्सी सकेर अहिले त्रिचन्द्रमा अंग्रेजी र पोलिटिकल साइन्स लिएर बीएस्सी पढ्दै छु ।’ विजयले झन् फुर्तिसाथ जवाफ दिए ।

गिरी चुपचाप कोठाभित्र छिरे । आमा-छोरा ट्वाल्ल परेर बसिरहे । एकछिनपछि हातमा पाँचवटा यमानका किताब बोकेर निस्किए विजय गिरी । उनले ती पुस्तक विजयका हातमा थमाए । विजय ट्वाँ परे ।

‘ल यी किताब पढ्न थाल,’ विजयले भने, ‘तिमी पाइलट बन्न सक्छौ । पक्का सक्छौ ।’

विजय भन्छन्, ‘सायद मेरो फुर्तिलो र आत्मविश्वास भरिएको जवाफ देखेर उहाँ प्रभावित बन्नुभयो । यो केटो पाइलट बन्न लायक छ भन्ने महसुस गर्नुभयो । नत्र कसैले आफूसित भएका किताब अरुलाई यत्तिकै किन दिन्छ ?’

विजयले उनलाई किताब मात्रै थिएनन् । एउटा अमेरिकी नागरिकको नाम, ठेगाना र फोन नम्बर पनि दिए । उनी थिए बीजे ज्याकलिन । उच्चारण गर्दा विजय नै सुनिन्थ्यो । अब झन् रमाइलो हुने भयो !

‘यो मान्छेलाई मेरो नाम लिएर फोन गर्नु, तिमीलाई सबै सहयोग गर्छ,’ विजयले उनलाई भनेका थिए । किताबको ठेली र विजेको ठेगाना बोकेर विजय आमासँगै बाटो लागे ।

तीन विजयको संयोग
त्यतिबेला काठमाडौंमा फोन गर्न अहिले जस्तो ‘फ्री’ थिएन । एकाध ठाउँहरुमा ट्रङ्कल सुविधा थियो । अमेरिका फोन गर्दा मिनेटको एक सय ८० रुपैयाँ लाग्थ्यो । तीन मिनेटको पैसा पहिले नै जम्मा गर्नुपथ्र्यो ।

विजयले अहिलेको आरएनएसी बिल्डिङमा नै आएर तीन मिनेटको पैसा ३६० रुपैयाँ जम्मा गरे । त्यसपछि फोन नम्बर डायल गरे । थप पैसा थिएन, त्यसैले तीन मिनेटमा सबै कुरा सक्नुपर्ने थियो । फोन उठ्यो ।

‘हाई विजे, दिस इज वियज । विजय, आक्स्ड मि टु कल यू ।’ उनले सासै नफेरी भने ।

‘ह्वाट ? ह्वाट ?’ विजे अल्मलिए ।

विजयले फेरि त्यही लाइन दोर्‍याए, ‘हाई विजे, दिस इज विजय, विजय आक्स्ड मि टु कल यू ।’

रणभुल्ल परेका विजय च्याँठि्ठए, ‘आर यू किडिङ मी ?’

त्यसपछि विजयले विस्तारमा भन्नुपर्‍यो । उनले भने, ‘हाई विजे ज्याकलिन, दिस इज विजय लामा फ्रम नेपाल । क्याप्टेन विजय गिरी आक्स्ड मी टु कल यू, विकाउज आई वान्ट टु बी ए पाइलट ।’

उताबाट जोडजोडले हाँसेको आवाज आयो । बीजे डलरमा हाँसिरहेका थिए, यता विजयको तीन सय ६० रुपैयाँ पैसा चैट हुन लाग्यो ।

खास कुरा बोल्नै बाँकी थियो । त्यसपछि हत्तपत्त उनले भने, ‘म पाइलट पढ्न त्यहाँ आउँछु । मलाई आइ-ट्वान्टी र्फम चाहियो ।’ बीजे एस एस भन्दै थिए, फोन काटियो ।

उनलाई अमेरिका पठाउन बुवाले ६ हजार डलर कहाँबाट जम्मा गरे, उनले थाहा पाएनन् । यद्यपि त्यतिबेला एक डलर बराबर १० रुपैयाँ मात्रै थियो

त्यही फोनको भरमा बीजेले आइ-२० फर्म पठाइदिए । त्यसलाई भरेर विजयले उनैलाई पठाए । त्यसको केही समयभित्र उनी अमेरिका उडिसकेका थिए ।

उनलाई अमेरिका पठाउन बुवाले ६ हजार डलर कहाँबाट जम्मा गरे, उनले थाहा पाएनन् । यद्यपि त्यतिबेला एक डलर बराबर १० रुपैयाँ मात्रै थियो ।

अमेरिकामा तालिम

ब्याचलरको पढाइ बीचमै छाडेर अमेरिकाको टेक्सास पुगे विजय । एयरपोर्टमै लिन आएका बीजेले उनलाई त्यो रात एउटा होटलमा लगेर राखे । भोलिपल्ट अफिस लगे । अफिसमा थुप्रै नेपाली युवाहरु उनले देखे ।

नेपालीहरु नै बस्ने एउटा अपार्टमेन्टमा उनलाई बस्ने प्रवन्ध मिलाइदिएका रहेछन् बीजेले । त्यहीँ बसेर उनले पढ्न थाले ।

‘मसित जान्छस् ?’ पाइलटको तालिम लिइरहेका शशीधर पाठकले एक दिन उनलाई सोधे । उनले ‘जान्छु’ भन्ने जवाफ दिए । शशिधरले उनलाई आफ्नो पहिलो ‘इन्ट्रडक्टरी फ्लाइट’मा आफूसँगै राखेर उडाए । जहाजलाई हावामा चटकेले जसरी अनेक तरहले गोता खुवाउँदा विजय डराएनन्, बरु रोमाञ्चित बने ।

शशिधरले आकाशमा अंग्रेजी ८ अंकको आकार हुनेगरी जहाजलाई तोडमोड गरेर घुमाएर देखाए । विजयले आँखा चम्काउँदै भने, ‘वाउ’ !

विजयको पढाइ र तालिम अगाडि बढ्यो । उनले प्राइभेट पाइलटको लाइसेन्स लिए । तर, कमर्सियल, इन्स्ट्रुमेन्ट, मल्टिइञ्जिनको लाइसेन्स लिन बाँकी नै थियो । घरबाट ल्याएको पैसा रित्तियो । साथीहरु घरमा फोन गर्दै पैसा मगाउन थाले । उनलाई फोन गर्न मन लागेन ।

‘हाम्रो आर्थिक अवस्था धेरै राम्रो थिएन । बुवाले जसरी-तसरी पैसा व्यवस्था गरेर अमेरिका पठाउनुभयो । त्यसपछि थप पैसा पठाउन सक्ने उहाँको क्षमता थिएन । फेरि मलाई आफ्नो लक्ष्य पूरा नगरी फर्किन पनि मन थिएन’ विजय सम्झन्छन् ।

प्यालेस्टीनी साहुको गाली
विजयसँग अमेरिका जानासाथ किनेको एउटा थोत्रे टोयटा गाडी थियो । बेच्न चाहे पनि नबिक्ने अवस्थाको । उनीसँग हातमा थियो चार सय डलर । यता कोठा भाडा ४५० डलर तिर्न बाँकी थियो । विजय काम खोज्ने चक्करमा लागे ।

उनको सेक्युरिटी कार्डमा ‘नट भ्यालिड फर इम्प्लोइमेन्ट’ लेखेको थिएन । उनले एउटा पिजाहटमा वेटरको भ्याकेन्सी देखे । गए । फर्म भरे । प्यालेस्टीनी साहु रहेछन्, सलाह ।

सलाहले उनको फर्म हेरे । केही कुरा सोधे । विजयले खरर अंग्रेजीमा जवाफ दिएपछि प्रभावित बने झैं देखिए । एकैछिनमा जागिर पक्का भयो ।

‘भेरी गुड, भोलिदेखि काममा आउनू’ सलाहले विजयलाई भने । विजय खुशीले उफ्रिन मात्रै सकेनन् ।

जाँदाजाँदै सलाहले सोधे, ‘ग्रीन कार्ड त छ नि हैन ?’ विजय अक्क न बक्क परे । उनीसँग ग्रीन कार्ड थिएन । साँचो बोल्दा जागिर जाने । झूट बोल्दा आत्माले नदिने । उनलाई धर्मसंकट भयो ।

फ्याट्टै भने, ‘ग्रीन कार्ड त छैन ।’

प्यालेस्टिनी बोस एकाएक आगो भए । आफ्नो बहुमूल्य समय नष्ट गरेको भन्दै नानाथरी गाली दिन थाले । विजय रुन मात्र सकेनन् ।

‘यू ब्लडी फूल इडियट, गेट आउट’ भनेर सलाह चिच्याएपछि केही हल्ला नगरी विजय हिँडे । हिँड्नुअघि सलाहले विजयले मुठ्टीमा राखेको फर्म खोस्दै फेरि एकपटक गाली दिए, ‘यू ब्लडी फूल इडियट । यू डन्ट निड दिस ब्लडी फूल…’

दिक्दार भएर विजय कोठामा गएर पसारिए । भोलिपल्ट बिहानसम्म पसारिएकै थिए । अपार्टमेन्ट रहेको साझा फोनको घन्टी बज्यो । उनैले उठाए । हेल्लो भन्नासाथ उताबाट गाली वषिर्यो, ‘यू ब्लडी फूल इडियट । ह्वाई आर यू लेट इन द अफिस । डन्ट यु नो द भ्यालु अफ टाइम ब्लडी फूल…।’

आवाज चिरपरिचित थियो, र पनि विजयले सोधे, ‘हु आर यू प्लीज ?’

‘आई एम योर बोस, ब्लडी फूल ।’

विजय फेरि अक्क न बक्क भए ।

फेरि उताबाट बोस चिच्याए, ‘कम विदिन १८ मिनेट ब्लडी फूल, अदरवाइज यू आर फायर्ड ।’

फोन राखेर उनले हत्तपत्त पाइन्ट र टिसर्ट भिरे । अनि थोत्रो टोयोटा गाडी स्टार्ट गरेर कुदाए ।

‘नर्मल स्पिडमा त्यहाँ पुग्न २५ मिनेट लाग्थ्यो । तर, मैले थोत्रो गाडी पनि यसरी कुदाएँ कि १६ मिनेटभित्रै अफिसमा हाजिर,’ विजय सम्झिन्छन् ।

अघिल्लो दिन मार गाली गरेर खेदेको प्यालेस्टीनीले भोलिपल्टै किन बोलायो त ? विजय भन्छन्, ‘आइ एम नट स्योर । तर, सायद मैले इमान्दार जवाफ दिएको देखेर पग्लियो होला । अरु सबैले जागिर पाउनका लागि ग्रीन कार्ड छ भनेर ढाँट्दा रहेछन् र भोलि ल्याउँछु भन्दै टार्दा रहेछन् । मैले ढाँटिन । यत्तिको इमान्दार मान्छे छाड्नु हुँदैन भन्ने सोच्यो होला । अर्को कुरा, म हेर्दा पनि स्मार्ट र अंग्रेजी राम्रो बोल्ने भएकाले प्लस प्वाइन्ट भएको हुनुपर्छ ।’

कार्यालय पुगेपछि प्यालेस्टीनी बोसले उनलाई शर्त राखे, ‘काम सुरु गर तर, एउटा शर्तमा । कसैले सोधपुछ गर्न आयो भने मैले बोसलाई ग्रीनकार्ड छ भनेर ढाँटेको हुँ भन्नु ।’

विजयले ‘ओके सर’ भनिदिए ।

वेटरबाट काम थालेका उनी चाँडै नै ‘डिस वासर’ मा बढुवा भए । त्यसपछि सिफ्ट सुपरभाइजर हुँदै असिस्टेन्ट म्यानेजर बने । अनि त प्यालेस्टीनी बोस ढुक्कले उनलाई पिजाहट जिम्मा लगाएर होलिडे मनाउन निस्कन्थे ।

पिज्जा हटमा जागिर खान थालेपछि विजयको पढाइले निरन्तरता पायो । हरेक विहीबार उनको तलब आउँथ्यो । उनी शुक्रबार आफु पढ्ने कलेजमा पैसा जम्मा गर्थे । बाँकी पैसाले खान बस्न र घुमफिर गर्न पर्याप्त हुन्थ्यो ।

पछि उनले वकिलहरुको सहयोगमा काम गरेर बस्न मिल्ने कानूनी कागजात नै बनाए । अनि, एउटा ग्यास स्टेसनमा पनि काम गर्न थाले । ग्यास स्टेसनमा उनले क्यासियरबाट सुरु गरे । त्यसपछि क्लर्क, असिस्टेन्ट म्यानेजर हुँदै ट्रेनिङ सुपरभाइजर बने ।

हातमा वाकिटकी लिएर नयाँ गाडी चढेर रवाफका साथ हिँड्न थाले । त्यतिबेला दुईतिरबाट गरेर महिनाको पाँच हजार डलर कमाउने गरेको उनी बताउँछन् ।

पाइलट बनेर नेपाल फिर्ता
अमेरिकामा पाइलट कोर्स पूरा गरेर सन् १९८७ मा नेपाल आए विजय । अमेरिकामा उनले मल्टिइन्जिनसम्मको लाइसेन्स पाएका थिए । यहाँ आएपछि ट्वीनटरको तालिम पनि लिए । सोही वर्षको जून १ बाट उनले आरएनएसीमा को पाइलटको जागिर पाए ।

को-पाइलटबाट सुरु गरेका विजय क्रमश क्याप्टेन, इन्स्ट्रक्टर, चिफ पाइलट, सुपरभाइजर, सुपरीटेन्डेन्ट, ग्राउन्ड इन्स्ट्रक्टर, रिसोर्स म्यानेजमेन्ट इन्स्ट्रक्टर र डेपुटी डाइरेक्टर भए ।

केही वर्षअघि मात्रै नेपाल एयरलाइन्सले उनीसहित केही पाइलटलाई एयरबसको तालिमका लागि फ्रान्स पठायो । अहिले एनएसीसँग रहेका ६ जना एयरबस कमाण्डरहरुमा विजय एक हुन् ।

पछिल्लो समयमा एनएसीले उनलाई ‘फ्लाइट अपरेसन इन्टरनेसनल’को उप निर्देशक बनाएको छ ।

कोपाइलटलाई माला, पाइलटलाई हेला
‘तपाईं जीवनमा पहिलोपटक जहाज चढेको याद छ ?’ विजयलाई सोधियो –

‘अहो,’ उनले धाप मार्दै भने, ‘गज्जबको प्रश्न पो सोधियो ।’ तर दुखको कुरा उनलाई पहिलोपटक जहाज चढेको कहिले हो भन्ने याद थिएन । कत्ति गर्दा पनि सम्झन सकेनन् ।

नेपालमा पहिलोपटक जहाज उडाउँदाको अनुभव भने उनको मनमा ताजै छ । उनले क्याप्टेन एएस राणाको को-पाइलट भएर काठमाडौंबाट लुक्ला उडान भरेका थिए । रोचक के भयो भने जहाज लुक्ला नपुग्दै टावरबाट विजय लामालाई धेरै मानिसहरु पर्खेर बसेका छन् भन्ने खबर आइसकेको थियो ।

विजयलाई सेलिब्रेटीको रुपमा धेरै नेपालीले चिन्थे । त्यसैले उनलाई पाइलटका रुपमा हेर्न धेरै मानिसहरु लालायित थिए । लुक्ला विमानस्थलमा ओर्लेपछि मानिसहरुले विजयलाई माला र खादा लगाइदिएर स्वागत गरे । जबकि मुख्य पाइलट राणालाई भने कसैले वास्ता गरेन ।

जोमसोमबाट फर्केर आउँदाको घटना विजय कहिल्यै भुल्न सक्दैनन् । उनको करिअरमै सबैभन्दा तनावपूर्ण उडान थियो त्यो । सामान्य अवस्थामा १८ मिनेट उड्ने जहाज उनले डेढ घन्टा उडाएका थिए ।

‘वास्तवमा त्यतिबेला मलाई निकै अप्ठेरो लागेको थियो । तर, पछिपछि त बानी नै भयो’ विजय भन्छन् । विजयले १५८० घन्टाको कोर्स पूरा गरेपछि जहाजको क्याप्टेन बने । त्यसपछि भने उनलाई त्यस्तो असहज परिस्थितिबाट गुज्रिन परेन ।

१८ मिनेटको उडानलाई डेढ घण्टा
जोमसोमबाट फर्केर आउँदाको घटना विजय कहिल्यै भुल्न सक्दैनन् । उनको करिअरमै सबैभन्दा तनावपूर्ण उडान थियो त्यो । सामान्य अवस्थामा १८ मिनेट उड्ने जहाज उनले डेढ घन्टा उडाएका थिए ।

सो उडानलाई यसरी सम्झिन्छन् विजयः ‘मौसम निकै बिग्रेकाले काठमाडौंमा लगेर अवतरण गराउने अवस्था थिएन । त्यसैले मैले जहाज होल्ड गर्न थाले ।

निर्धारित समयमा जहाज अवतरण हुन नसकेपछि यात्रुहरुबीच खुल्दुली सुरु भयो । तर, निकै बेरसम्म पनि अवतरण गर्ने अवस्था नहुँदा को-पाइलट पनि आत्तियो । यात्रुहरु रुन कराउन र चिच्याउन थाले ।’

‘यता, जहाजको इन्धन पनि खत्तम हुन लागेपछि जसरी भए पनि अवतरण गर्नुपर्ने अवस्था आयो । अन्ततः मैले नअत्तालिइकन भरतपूर विमानस्थलमा जहाज अवतरण गराएँ । विमानबाट ओर्लेका यात्रुहरुले रुँदै मलाई अंगालो मार्नुभयो । कतिजनाले माटोलाई चुम्मा खाएर टाउकोमा लगाउनुभएको देखेँ । त्यतिबेला चाहिँ म पनि भावुक बनेँ ।’

अलिकति स्पेस चाहिन्छ, खुला राजमार्गमा पनि जहाज अवतरण गर्न सकिन्छ

राजमार्गमा पनि ल्याण्ड गर्न सकिन्छ
विजय अगाडि भन्छन्, ‘जस्तोसुकै परिस्थितिमा पनि जहाजलाई सुरक्षित अवतरण गराउन सक्छु भन्ने आत्मविश्वास मलाई छ । अलिकति स्पेस चाहिन्छ, खुला राजमार्गमा पनि जहाज अवतरण गर्न सकिन्छ ।’

विमान उडाउनु धेरैका लागि असुरक्षित र जोखिमपूर्ण पेशा हो । तर, विजय भने यसलाई संसारकै सुरक्षित पेशा दावी गर्छन् । उडनका विविध पक्षबारे हाम्रो जिज्ञासाको जवाफ विजयले यसरी दिए ।

विमान उडाउनु कत्तिको असुरक्षित पेशा हो ?

विमान उडाउनु भनेको प्राकृतिक नियमको उल्लंघन हो । गुरुत्वाकर्षणको नियमअनुसार कुनै पनि वस्तु माथिबाट तल खस्छ । तर, जहाज तलबाट माथि उड्नुपर्छ । सायद यसैले गर्दा यो कामलाई असुरक्षित मानिएको छ ।

अर्को कुरा, यो पेशामा सेकेन्ड चान्स हुँदैन । एउटा गल्ती भयो भने सकियो । सरी भन्नेसम्म मौका मिल्दैन । अरु पेशामा गल्ती गर्दा पैसा नाश हुन्छ,, तर, यसमा त जीवन नै समाप्त हुन्छ ।

यति जोखिमपूर्ण पेशा किन अंगाल्नुभयो त ?

जोखिम त केमा छैन ? कुन पेशा खतरामुक्त छ ? के तपाईंको पेशामा जोखिम छैन ? तपाईंले लेखेको समाचार तलमाथि भयो भने भोलि कसैले गुण्डा लगाएर तपाईंलाई मार्न पनि त सक्छ नि । म भन्छु, अरु पेशाको तुलनामा हाम्रो पेशा सबैभन्दा सुरक्षित छ ।

हामी पूर्ण दक्ष भइसकेपछि मात्रै एउटा जहाज उडान उडाउन पाउँछौं । अरु पेशामा जस्तो यसमा सम्झौता गरिँदैन । सानोतिनो कुरामा पनि हेलचेक्र्याइँ गरिँदैन ।

त्यसैले यो सुरक्षित छ । दुर्घटना भनेको मानवीय गल्तीले हुने हो । गल्ती नगरेसम्म दुर्घटना हुँदैन । जहाजको सेफ्टी जमीनबाट सुरु हुन्छ र जमीनमै आएर पूरा हुन्छ ।

सुरक्षित उडानको सबैभन्दा महत्वपूर्ण आवश्यकता के हो ?

जहाज कमाण्डर, को-पाइलट र क्रु मेम्बरबीचको तालमेल सबैभन्दा महत्वपूर्ण हुन्छ । जहाजमा निर्णायक भूमिका कमाण्डरको नै हुन्छ । कठीन क्षणहरुमा उसले लिने निर्णय नै अन्तिम हुन्छ । तर, कमाण्डर मात्रै दक्ष भएर पुग्दैन । चालक दल र क्रु-मेम्बरले गडबडी गरेको खण्डमा जे पनि हुन सक्छ । त्यसैले सबैजना एक मुठीजस्तो हुनुपर्छ ।

कस्तोबेलामा यात्रुहरु अत्यधिक डराएको पाउनुहुन्छ ?
मौसम बिग्रेका बेला । बाहिर डम्म भएर केही देख्न सकिएन, झल्याकझुलुक विजुली चम्कियो र जहाज हल्लिन थाल्यो भने यात्रुहरुमा त्रास पैदा भएको पाइन्छ ।

तर, हाम्रा लागि यी अवस्था सामान्य हुन् । मौसम बिग्रिँदैमा हामी अत्तालिदैनौं, किनकि हाम्रो तालिम नै त्यस्तै हुन्छ ।

एउटा पाइलट साच्चिँकै आत्तिनुपर्ने परिस्थिति कतिबेला उत्पन्न हुन्छ ?
यदि को-पाइलट आत्तिन थाल्यो भने कमाण्डरका लागि चिन्ताको विषय हुन्छ । त्यतिबेला पाइलटले को-पाइलटलाई पनि मोटिभेट गर्न सक्नुपर्छ । जहाजको इन्जिनमा कुनै प्राविधिक समस्या आयो भने पनि सबैभन्दा तनाव हुन्छ । एउटा दक्ष पाइलटको परीक्षा यस्तो बेला नै हुने हो ।

कुनै डरलाग्दो समस्या आयो भने यात्रुहरुलाई बताइँदैन । किनभने त्यस्तो बेलामा जहाज दुर्घटना हुन सक्ने डरले यात्रुहरु कहालिने मात्रै होइन, भित्रै भागदौडसम्म गर्न सक्छन्

जहाजभित्र समस्या आउँदा कतिबेला यात्रुहरुलाई जानकारी दिइन्छ र कतिबेला सूचना लुकाइन्छ ?
मौसम खराब भयो भने यात्रुहरुलाई जानकारी दिइन्छ । जहाज लामो समय होल्ड गर्नुपर्दाखेरि पनि त्यसको कारण बताइन्छ । तर, साँच्चै जहाजमा कुनै डरलाग्दो समस्या आयो भने यात्रुहरुलाई बताइँदैन । किनभने त्यस्तो बेलामा जहाज दुर्घटना हुन सक्ने डरले यात्रुहरु कहालिने मात्रै होइन, भित्रै भागदौडसम्म गर्न सक्छन् ।

एउटा जहाजलाई कति उचाइसम्म लगिन्छ ? धेरै उचाइमा लैजानु किन आवश्यक छ ?

३९ हजार फिट माथिसम्म लैजाने हो । उचाइमा उड्दा जहाज बढी सुरक्षित हुन्छ । इन्धन पनि बच्छ । तल उडाउँदा धेरै पावर चाहिन्छ । जति माथि उड्यो जहाजको तौल उति कम हुन्छ र इन्धन खपत पनि कम हुन्छ ।

जहाज उडाइरहँदा ककपिटभित्र चालक दलका सदस्यबीच गफगाफ वा ख्यालठट्टा कत्तिको हुन्छ ?
सामान्यतया जहाज टेकअप गरेपछि १० मिनेटको समय संवेदनशील हुन्छ । यतिबेला सबैभन्दा बढी व्यस्तता हुने भएकाले आपसमा कुराकानी हुँदैन ।

निश्चित उचाइमा पुगेपछि जहाज स्थिररुपमा उड्न थाल्छ । यतिबेला सहजता आउँछ र मजाले गफ गर्न सकिन्छ । यद्यपि पाइलटले जतिबेला पनि चनाखो आँखाले अगाडि हेरिरनुपर्छ । यसैगरी जहाज ल्याण्ड गर्ने बेलामा फेरि व्यस्तता बढ्छ । ल्याण्ड गर्नुभन्दा १५ मिनेट अगाडिदेखि फेरि गफ हुन छोड्छ ।
आफ्नो पेशाबाट कति सन्तुष्ट हुनुहुन्छ ?
म पूर्ण सन्तुष्ट छु । यति ठूलो आत्मसन्तुष्टि सायद अन्य कुनै पेशामा छैन ।अनलाईन खबरबाट


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *