Search
Saturday 15 December 2018
  • :
  • :
Latest Update

एमबिबिएस पढाइ सकेर फर्किएकी छोरी खोज्दाका पाँच घन्टा (मार्मिक भिडियोसहित)

एमबिबिएस पढाइ सकेर फर्किएकी छोरी खोज्दाका पाँच घन्टा (मार्मिक भिडियोसहित)

काठमाडौं । अस्पतालको भयावह र विभत्स दृश्यबीच कलेज युनिफर्मको सुट लगाएका एक जना भाइ छेवैमा आएर सोधे, ‘दुर्घटना भएको विमानको नाम के हो दाइ?’

‘युएस बांग्ला,’ मैले जवाफ दिएँ। उनको पछि पछि एक जना महिला पनि थिइन्। ती भाइ उनै महिलातिर फर्किए र भने, ‘त्यही प्लेन हो रहेछ।’

ती महिला खंग्रङ्ग भइन्। अनुहारको बत्ती अचानक निभ्यो। यो खबर गिरीश गिरीले सेतोपाटीमा लेखेका छन् ।

विमान दुर्घटनाको केही बेरमै एयरपोर्ट छेउको काठमाडौं मेडिकल कलेज (केएमसी अस्पताल) को दृश्य विभत्स थियो। जताततै ट्राफिकको चर्को सिठ्ठीका साथ एकपछि अर्को एम्बुलेन्सका आवाज आइरहेका थिए।

एम्बुलेन्सबाट धमाधम ल्याइएका शरीर खुला स्थानमा थुपारिन्थे। त्यहाँ ठूलो संख्यामा सेतो पहिरन लगाएका स्वास्थ्यकर्मी परिचालित थिए। उनीहरुले थुपारिएकामध्ये चलमलाएका शरीरमा तत्काल प्राथमिक उपचार र स्लाइन लगाउँदै माथि आइसियूदेखि सम्बन्धित वार्डहरुमा पठाइरहेका थिए।

जलेका र काटिएका शरीरको त्यो दृश्य हेर्न मुश्किल थियो। दृश्य नियालिरहेका मानिसका फरक फरक आँखाले त्यसलाई झनै भयावह बनाइरहेका थिए। मैले झेल्न सकिनँ र त्यहाँबाट बाहिरिएँ।

अस्पताल बाहिर पुगेपछि सडक किनार उभिएको अवस्थामा अघिकी तिनै महिला फेरि देखापरिन्। आकुल–ब्याकुल।

‘के भयो दिदी?’ मैले सोधेँ।

‘यही प्लेनमा आएकी मेरी छोरीको पत्तो पाइनँ।’

म झसंग भएँ।

त्यतिन्जेल उनका आफन्त पनि त्यहाँ आइसकेका थिए।

‘छोरीको नाम एल्जिना बराल,’ ती आफन्तले भने, ‘एमबिबिएस पढाइ सकेर यसै विमानमा नेपाल आउँदै थिइन्।’

मैले आफू सञ्चारकर्मी रहेको र हराएकी छोरीका बारेमा कुनै जानकारी पाउनेबित्तिकै उनीहरुलाई बताउने भनेर सुनाएँ। तत्कालै केही प्रयास पनि गरेँ। यसले उनीहरुलाई मसँग नजिक्यायो।

एकै छिनमा एल्जिनाका पिता गणेश बराल त्यहाँ देखिए।

२०४५ सालमा धनुषाको लालगढबाट काठमाडौं आएर औषधि व्यवस्था विभागमा जागिर खाएका उनी अवकाशप्राप्त कर्मचारी रहेछन्। अघिसम्म यतै देखिएकी उनकी श्रीमती गंगा बराल छोरी खोज्दै नर्भिक अस्पताल पुगिसकेकी रहिछन्।

‘नर्भिकमा पनि तीन जना लगिएकोमा छैन रे,’ गणेशले मोबाइल राख्दै भने, ‘ख्वै कसरी कता खोज्ने हो?’

उनीहरु धमाधम फरक फरक अस्पतालका विवरण संकलन गरिरहेका थिए। कतैबाट केही पत्तो लागिरहेको थिएन।

‘मेरो आफन्तकी छोरी चारु बराल पनि यसै विमानमा आएकी थिइन्,’ गणेशले भने, ‘सँगसँगै पढेकी र प्लेनमा पनि सँगै बसेकी दुई दिदी बहिनी नै फेला परेनन्।’

त्यहाँ भेला भएका झण्डै बीस जना आफन्त अनेकतिर जाने र फेला परेका जानकारी ल्याउने गरिरहेका थिए। तर, एल्जिना र चारुको पत्तो केही थिएन।

‘हाम्रो कन्ट्रोल रुममा दर्ता भएको नाम पनि हेरिसकेँ,’ सडकमै खटिएका एक प्रहरीले आएर भने, ‘त्यहाँ पनि अहिलेसम्म उनीहरु दुवै जनाको नाम रेकर्ड छैन।’

अन्य अस्पतालतिर खोजेर आमा गंगा पनि फेरि केएमसी आइसकेकी थिइन्।

‘आइसियुमा राखेको छ रे!’ उनीहरुको भीडमा एउटाले खबर ल्यायो।

त्यो भीड सलहजस्तै अस्पतालभित्र पस्न खोज्यो। सुरक्षाकर्मीले केहीलाई मात्र पस्न दिए। पसेकाहरु धमाधम सिँढी उक्लन थाले। पाँचौं तल्लामा आइसियु रहेछ।

सिँढी चढुन्जेल कसैकसैले ‘बाँचेकै छ रे’ भनेर बाआमालाई सुनाए। ठीक त्यतिबेला अनुहार झिलिक्क बलेको थियो। हस्याङफस्याङ गर्दै आइसियु पुगेपछि त्यहाँ राखिएका घाइतेमा छोरीको नाम देखिएन। एकदुई जना भित्रै पसेर पनि हेरे।

‘छैन रहेछ’ भन्दै बाहिर निस्के।

‘जलेको मानिसलाई बर्न वार्डमा राखेको छ रे! त्यता हो भन्छन्,’ बाआमा फेरि दायाँ बायाँ केही नहेरी एकोहोरो बर्न वार्ड खोज्नतिर लागे। हतासिएर पुगे। त्यहाँ पनि अरु अरु नाम देखियो, छोरीको पत्तो थिएन।

बर्न वार्डबाट निस्केपछि पनि घरि यो ठाउँ त घरि त्यो ठाउँ गर्दै तल र माथि कुदाकुद चलिरह्यो।

त्यतिबेलै फेरि अर्का एक जना मानिसले ‘त्यो दुइवटै नामका छोरीहरु त इमर्जेन्सीमा उपचार भइरहेको छ, ज्यूदै छन्’ भनेर सुनाए।

‘बाँचेकै छन् रे! बाँचेकै छन् रे! इमर्जेन्सीमा राखेको छ रे!’ आफन्तहरु फेरि कुदाकुद गर्न थाले।

सबै जना दौडादौड इमर्जेन्सी पुगे। त्यो यस्तो ऊर्जा थियो, इमर्जेन्सीमा पस्नबाट उनीहरु कसैलाई रोक्न सकेनन्। सबै पसेर काउन्टरमा सोधे।

‘त्यो नामको त छ क्यारे,’ दाहिने कुनातिर हेर्दै ती स्वास्थ्यकर्मी युवतीले भनेकी मात्र के थिइन् आमा गंगा हुत्तिएर उता पुगिन्।

त्यहाँ कोही थिएनन्। बरु कम्प्यूटर कोठा थियो।

त्यतिबेलै इमर्जेन्सीबाट मानिस निकाल्न थालियो। सबै बाहिरिए। ठीक विपरिततर्फको कोठामा सबै जम्मा भए। त्यतै प्रदेश नम्बर तीनकी प्रमुख अनुराधा कोइराला घाइते र मृतकका आफन्तलाई सहयोग गरिरहेकी देखिन्थिन्।

‘यी बंग्लादेशीहरुका त कोही पनि छैनन्,’ कोइराला भनिरहेकी थिइन्, ‘म उनीहरुलाई पनि हेरिरहेकी छु।’

उता प्रधानमन्त्री पनि आइपुगे। उनको कारणले अस्पतालको प्रवेशविन्दुमा भीड लागेको थियो। इमर्जेन्सीको ढोकामै बसेर चिकित्सकहरुको भनाइ सुनिसकेपछि प्रधानमन्त्री फर्किहाले।

‘यत्रो बेर भइसक्यो,’ एल्जिनाका पिता गणेश भनिरहेका थिए, ‘म के गरौं? कसरी खोजौं? मलाई अब आशै मर्न थालिसक्यो।’

‘होइन दाइ,’ मैले ढाडस बढाउन खोजेँ, ‘यत्रो गर्दा पनि नभेटिनुको अर्थ यो विमानमा नचढेका पनि त हुनसक्छन्।’

‘ठीक १२ बजेर १२ मिनेट जाँदा छोरीले ‘बुवा म प्लेनको सिटमा बसेँ। मलाई लिन काठमाडौंको एयरपोर्ट आउनुस् है’ भनेकी थिई,’ गणेशले काँपेकै स्वरमा सुनाए, ‘अब यो प्लेनमै नचढेको कुरा पनि कसरी पत्याउनु?’

त्यतिबेलै बेलायतको गार्जियन पत्रिकाकी संवाददाता सोफीले पनि गणेशसँग कुरा गर्न खोजे।

‘अंग्रेजी उसले बोल्छ,’ गणेशले पत्नी गंगातर्फ देखाउँदै भने, ‘उसैसँग कुरा गर्न लगाइदिनुस्।’

पत्नी गंगा त्रिभुवन विश्वविद्यालयबाट ‘रुरल डेभलपमेन्ट’ मा विद्यावारिधि गरिरहेकी रहिछिन्। अन्योल र दौडादौडले थाकेका सबैको ओठमुख त्यहाँ सुकिसकेको थियो।

त्यस्तो दृश्य अस्पतालमा समूह समूहमा बसेका थुप्रैको थियो। सबै आत्तिएका, दौडिरहेका, रोइरहेका।

‘त्यो लाश राखेको कोठामा जानुभयो?’ भीडबाटै एक जनाले सोधे।

‘दुईचोटि गइसकेँ,’ गणेशले भने, ‘सनाखत नभएको दुईवटा मात्रै लाश छ, त्यो दुवै होइन।’

‘प्रमोद र रुपाको ज्वाइले एल्जिना र चारु दुवै जना यही अस्पतालमा ल्याइएको छ भनेर भन्दैछन् एकपटक फेरि गएर हेर्नुस् न,’ आफन्तमध्येका एक महिलाले गणेशलाई भने।

गणेश फेरि लाश राखिएको कोठातिर गए।

‘त्यो पत्ता नलागेको दुईवटामध्ये एउटा लाश चारुको रहेछ,’ एकैछिनमा फर्केर आएपछि उनले भने, ‘छाला र कपाल सबै ढडेको चिन्नै नसकिने अवस्थामा बल्लतल्ल पहिचान गरेँ।’

यसरी बेलुकीको छ बजेर चार मिनेट जाँदा बल्ल एक जनाको टुंगो लागेको थियो।

‘अनि हाम्री छोरी नि?’ गंगाले थपिन्, ‘दुवै जना त प्लेनमा सँगै बसेका थिए।’

‘त्यो पहिचान नभएको अर्को लाश फुली लगाएको छ,’ गणेशले भने, ‘फेरि त्यो औंलामा लगाएको औंठी पनि हाम्रो छोरीको होइन।’

बा र आमा झनै कहालिन थाले।

‘छैन क्या, यत्रो बेर नभेटिएपछि अब आशै छैन,’ तनावग्रस्त मुद्रामा बा भनिरहेका थिए।

छेउछाउका आफन्त पनि ‘आश गर्नु बेकार छ’ भन्दै खासखुस गर्न थाले।

आमा गंगा एकोहोरो ‘खोज्नुपर्छ’ भनिरहेकी थिइन्।

तर, खोज्ने कता?

‘घटनास्थलमै मृत घोषित सबैको शरीर शिक्षण अस्पताल लगेको छ रे,’ पिता गणेश भन्न थाले, ‘उता जाऔं।’

दिउँसो छोरीलाई लिन पुग्दा गणेशको मोटरसाइकल एयरपोर्टमै पार्क गरिएको थियो। केएमसीमा आमा गंगाको स्कुटी रहेछ। त्यही स्कुटी गणेशले हाँके र श्रीमती पछाडि बसिन्।

हामी उनीहरुको पछिपछि गयौं। गौशाला श्रीराम मन्दिर छेवैमा डेरा रहेछ। तल्लो दुईवटा तल्ला होस्टल चलाइएको घरको माथिल्लो तल्लामा बसोबास गर्दै आएका।

घरको ढोकामा पस्ने बेलामै एक जना महिला आएर सोधे, ‘के भयो भिनाजु?’

दिउँसोदेखि बलियो भएर सबै परिस्थिति सम्हालिरहेका गणेश अचानक कहालिएर रुन थाले। हाँकिरहेको स्कुटीसमेत सम्हाल्न नसक्नेगरी उनी चिच्याए। उनलाई सम्हाल्दै माथि लगियो।

हामी बाहिर निस्क्यौं।

‘आज छोरी आउँदैछे भनेर दाइ अघिमात्र चट्ट परेर निस्कनुभएको थियो,’ घरको आडैमा सिलाइ पसल चलाएकी कविता राई भनिरहेकी थिइन्, ‘कठै, यो के सुन्नुपर्यो।’

एल्जिना बराल
उता गणेश कहालिएर रोएको बाहिरसम्मै सुनिँदै थियो।

घरमा धमाधम आफन्तहरु आउन थाले।

एकैछिनमा चिच्याएको र रोएको आवाज सामसुम भयो। हामी माथि चढ्यौं।

गणेशको अवस्था सामान्य भइसकेको थियो।

‘मेरा दुई छोरीमध्ये जेठी एलिनाले बंगलादेशमै एमबिबिएस सकेर इन्टर्नसिप गरिरहेकी छे,’ गणेशले भने, ‘उही कलेजमा एमबिबिएस पढ्ने कान्छी चाहिँ अस्ति शनिबार पाँच वर्षको अन्तिम परीक्षा दिइसकेपछि आज आउँदै थिई।’

सानैदेखि एउटै स्कुलमा पढेका दुवै दिदीबहिनीले यता रहँदा निस्ट कलेजमा पढेका थिए। त्यसपछि बंगलादेशको सिलेटस्थित ‘जलालावाद रागिव राबेया मेडिकल कलेज’मा एमबिबिएस अध्ययन गर्न एक वर्षको अन्तरमा पुगेका थिए। सोमबार दुर्घटनाग्रस्त विमानमा एल्जिना र चारु लगायत त्यसै कलेजका १३ जना नेपाली विद्यार्थी सवार थिए।

शनिबारको परीक्षा सकिनेबित्तिकै कान्छी छोरीले फोनमा गरेको संवाद गणेशले सम्झिए।

‘बाबा म पनि डाक्टर भएँ,’ उनले भनेकी थिइन्, ‘हामी दुवै जना दिदीबहिनी अब डाक्टर भयौं।’

गणेशका अनुसार सानैदेखि पढ्नमा तेज कान्छी छोरी एल्जिना बंगलादेशमा पनि प्रत्येक वर्ष त्यहाँको विश्वविद्यालयमै सबैभन्दा बढी अंक ल्याएर उत्तीर्ण हुँदै आएकी थिइन्।

सोमबार बिहान विमानस्थल जानुभन्दा पहिले पनि फोन गरेकी छोरीले बाबालाई एयरपोर्टमै हेर्न चाहेको र लिन आउनू भनेपछि गणेशले ‘हुन्छ’ भनेका थिए। त्यसपछि काठमाडौं उड्नै लाग्दा विमानको सिटमा बसेर पनि फोन गरेकी थिइन्।

छोरीलाई कबुलेको समयमै उनी त्रिभुवन विमानस्थल पुगे।

‘मोटरसाइकल ठ्याक्क रोक्नेबित्तिकै आजको मौसम देखेर मनमा नराम्रो कुरा खेलिरहेको थियो,’ उनले भने, ‘सरासर एयरपोर्टको आगमन क्षेत्रमा गएर मोनिटर हेर्दा चेक इन भनेर लेखिरहेको थियो तर ल्याण्ड भनेर चाहिँ देखाइरहेको थिएन।’

त्यहाँ अन्यौल भएर बसिरहेकै बेला कताकताबाट ‘प्लेन एक्सिडेन्ट भयो रे’ भन्ने गाइगुइँ चल्न थालेछ। गणेशले हत्तपत्त नजिकै प्रहरीलाई गएर सोधेछन्। प्रहरीले एकोहोरो ‘ओहो, तपाई केएमसी अस्पताल जानुस्, केएमसी अस्पताल जानुस्’ भन्न थाले।

‘बंगलादेशबाट प्लेन चढेर आएकी छोरीलाई एयरपोर्टमा लिन गइरहेको छु,’ गणेशले कहालिँदै भने, ‘उता पुलिस चाहिँ अस्पतालमा लिन जानुस् पो भनिरहेको छ।’

त्यतिबेलै गणेशको सात्तोपुत्लो उडेछ।

नाता पर्ने भतिजी चारु बरालका परिवार पनि त्यहीँनिर आँत्तिदै आए।

‘त्यत्रो प्लेन दुर्घटना भनेपछि पापी मनले अब छोरीसँग सायदै भेट होला भन्ने सोच्न थालिहाल्यो,’ गणेश भन्छन्, ‘तै पनि आँट र साहस बटुल्दै कुदाकुद केएमसी पुग्यौं।’

गणेशका अनुसार दुर्घटनाको खबर आएदेखि उता बंगलादेशबाट पनि हरेक दस मिनेटमा ठूली छोरीको फोन आइरहेको थियो। सानैदेखि एकसाथ हुर्केका र एकै ठाउँ पढेकी दिदीको छटपटी बुझ्न सकिन्थ्यो।

‘हामी आफैं अन्यौल भएर यता र उता कुदिरहेका छौं,’ उनी भनिरहेका थिए, ‘उता छटपटाएर बसेकी उसलाई के जवाफ दिने?’

त्यतिबेलै घरमा आएका आफन्तले इशारा गरे। हामी उनीहरु भएतिर पुग्यौं।

‘हामी शिक्षण अस्पताल पुगेर भर्खर आएका,’ ठूलोबुवा वसन्तराज बरालले भने, ‘विमानभित्रै मृत भेटिएकी एल्जिनाको शव त्यता पुगेको रहेछ।’

दिनभरिको खोजी, तनाव र अन्योलले यसरी राति करिब साढे सात बज्दा बल्ल निकास पायो।

आफन्तहरुले गणेश र गंगालाई थाहा नदिइएको बताए पनि गणेश यस विषयमा जानकार देखिन्थे।

‘मलाई थाहा छ मेरी छोरी अब छैन,’ उनले हामीलाई हेर्दै भने, ‘अहिले शिक्षण अस्पताल पुग्यौं भने हामीलाई हेर्नसम्म देला?’

हामी नाजवाफ भयौं। निरुत्तरै फर्कियौं।

उता अर्को कोठामा आमा गंगा एक्लै बसेर ‘खोज्नुपर्छ, खोजेकै छैन’ भनेर बर्बराइरहेकी थिइन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *